प्रताप दुलाल 

काठमाडौं । दशैंको टिकाको साइतलाई लिएर विवाद सिर्जना भएको छ । यो विवाद सिर्जना भएको हो अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिले बेग्लै साइत जारी गरेपछि । अन्तर्राष्ट्रिय समितिको भनाई छ– नेपालमा भन्दा एक दिन अगाडि नै अमेरिका, क्यानडा र वेलायतका नेपालीले टिका लगाउनुपर्छ ।

अर्थात्, नेपालमा अक्टोबर ८ मा टिका लगाउनुपर्छ, त्यहाँका नेपालीले ७ तारेखमै टिका लगाउनुपर्छ । अन्तर्राष्ट्रिय समितिले विभिन्न देशमा कुन मिति र समयमा टिका लगाउने भनी सूची नै जारी गरेको छ । समितिले अमेरिकाका विभिन्न ठाउँका लागि ७ तारेखका दिन चार वटा साइत जारी गरेको छ । समितिले अष्ट्रेलियामा ८ तारेखमै टिका लगाउनुपर्ने भनेको छ तर त्यहाँका लागि ठाउँ अनुसार तीन फरक समय निर्धारण गरेको छ । 

नाममा ‘अन्तराष्ट्रिय’ शब्द राखेर बनाइएको समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराई छन् । उनले र संस्थाका सदस्य सचिव सन्तोष वासिष्ठको हस्ताक्षरमा विभिन्न देशका लागि टिकाको साइत जारी गरिएको हो ।अन्तराष्ट्रिय पञ्चांग निर्णायक समिति काठमाडौं जिल्ला प्रशासन कार्यालयमा एनजीओको रुपमा दर्ता भएको एक संस्था हो । आधिकारिक पञ्चांग निर्णायक समितिले गर्नुपर्ने काम एनजीओले गरेको भनेर पनि विवाद र विरोध हुन थालेको हो ।

नेपालमा टिका तथा अन्य चाडपर्वको साइत हेर्ने एकमात्र आधिकारिक निकाय नेपाल पञ्चांग निर्णायक समिति हो । यो समिति सरकारले नै गठन गर्छ । दशकौं देखि यो समितिले काम गर्दै आइरहेकोमा नवगठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विदेशमा रहेका नेपालीहरुका लागि भन्दै बेग्लै साइत जारी गरेपछि विवाद सुरु भएको हो । 

अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. माधवप्रसादले सनराइज खबरसँग कुरा गर्दै विदेशका लागि बेग्लै साइत निकाल्ने निर्णय ती देशका स्थानीय क्यालेण्डरहरु अनुसार गरिएको बताए । संस्कृतिविद् प्रा.डा. जगमान गुरुङका अनुसार वास्तवमा दशैंमा साइत हेर्नुपर्ने भनेको जमरा राख्ने, फूलपाती भित्र्याउने र देवी विसर्जनको लागि हो । देवी विसर्जन गरेपछि टिका लगाइन्छ । 

विदेशमा फरक मिति किन ?

अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिका अध्यक्ष माधवप्रसादले सनराइज खबरलाई बताए– ‘विगतमा नेपाली विदेशमा थिएनन्, नेपालीहरु विदेशिएसँगै विदेशका लागि पनि टिकाको साइत निकाल्न परेको हो ।’ आधिकारिक पञ्चांग निर्णायक समितिले यो काम नगरेको हुनाले आफूहरुले गर्नुपरेको उनको भनाई छ । अमेरिकावासी नेपालीले चाड पर्व, तिथी श्राद्ध आदिमा नेपालकै तिथी, साइत तथा समय मान्दै आएका थिए । 

डा. माधवप्रसाद भन्छन्– ‘नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको लागि पात्रो बनाउने गरेको छ । अहिलेको विषय भनेको विदेशको लागि हो । हामीले साइतको गणना गरेर पारंगत व्यक्तिहरुको सल्लाहले विभिन्न देशका लागि साइत जारी गरेका हौं । नेपालको साइतसँग तुलना गर्दा नमिलेको जस्तो देखिएको हो ।’

८ तारेखमा अर्थात् नेपाली समयमा टिका नलगाएर किन अमेरिका, क्यानडा र वेलायतमा अघिल्लै दिन टिका लगाउनुपर्‍याे ? यस विषयमा डा. माधवप्रसादको तर्कका केही बूँदा :–

o तिथि गणना गर्दा अमेरिका, क्यानडा र वेलायतमा ८ अक्टोबरको सूर्योदय अगावै दशमी तिथि सकिन्छ । 

o ती देशमा सूर्योदयपछि केही मिनेट मात्रै भए पनि दशमी तिथी बाँकी हुन्थ्यो भने नेपालमा जस्तै ८ तारेखमै टिका लगाउन मिल्थ्यो । 

o टिकाको साइत मध्यान्ह १२ बजे अगाडिको निकाल्नु पर्ने हुन्छ । तर, ती देशमा सूर्याेदयदेखि मध्यान्ह १२ बजेभित्र तिथी नै पर्दैन । अनि कसरी ८ तारेखमा टिकाको साइत हुन्छ ?

o ती देशमा दशमी तिथी ७ तारेखमा पनि पर्छ र ८ तारेखको सूर्याेदय अगाडि नै सकिन्छ । त्यसैले एक दिन अगाडिको साइत सुझाइएको हो ।

 

कुरा लग्‍न, चन्द्र र सूर्यको

डा. माधवप्रसादको समितिले साइत जारी गरेकोमा नेपालका कतिपय बुद्धिजीवीले आपत्ति जनाएका छन् । डा. माधवप्रसादको तर्क के छ भने तिथी तथा साइत निकाल्ने काम चन्द्र र सूर्यको अवस्थिति हेरेर हुन्छ । हरेक देशमा चन्द्र र सूर्यको अवस्थिति फरक हुन्छ । त्यसैले अमेरिकामा बसेर नेपालको पात्रो हेर्नु उचित हुँदैन । 

यो तर्कमा सहमत छैनन् प्रा.डा. जगमान गुरुङ । उनको भनाई छ– ‘साइत निर्धारण लग्‍नले गर्ने हो । लग्‍नको उदय पूर्वमा हुने भएकाले अमेरिका, क्यानडा र वेलायत भन्दा पूर्वमा रहेको नेपालमा त्यहाँभन्दा पहिले टिकाको साइत उपयुक्त हुँदैन ।’तिथी, साइत आदि निर्धारण गर्ने काम ज्योतिष शास्त्रको हो भन्दै प्रा. डा. जगमानले ज्योतिष शास्त्रलाई मजाकको विषय बनाउन नहुने बताए ।

सीडीओ कार्यालयमा दर्ता भएको संस्थाले साइत सम्बन्धी निर्णय गर्नु अनुचित भन्दै उनले यो विषयमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले आधिकारिक धारणा सार्वजनिक गर्नु उपयुक्त हुने बताए । डा. माधवप्रसाद भन्छन्– हामीले साइत जारी गरेका हौं, मान्ने नमान्ने व्यक्तिको स्वेच्छा हो । सनराइज खवरबाट