लेटाङ—नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा समाजवादी विचारधाराका वरिष्ठ नेता देव नारायण ढकालको सोमबार निधन भएको छ। ८५ वर्षको उमेरमा लेटाङस्थित उनको आफ्नै निवासमा निधन भएको हो।
लेटाङ नगरपालिका–६ निवासी ढकाल केही समयदेखि बिरामी रहेका थिए । विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारपछि घर फर्काइएपछि उनको निधन भएको परिवारले जनाएको छ।
स्व. गिरिजाप्रसाद कोइरालाका समकालीन मित्रका रूपमा परिचित ढकाल लामो समयदेखि राजनीतिक जागरण अभियानमा सक्रिय रहेका थिए । नेपालको बहुदलीय प्रणाली पुनःस्थापनादेखि विभिन्न आन्दोलनहरूमा उनको उल्लेखनीय भूमिका रहेको बताइन्छ।
उनको निधनले लेटाङसहित देशभरिका शुभचिन्तक, राजनीतिक अनुयायी तथा समाजवादी विचारधारामा आस्थावानहरूलाई दुःखी बनाएको छ।
ढकाल परिवारले श्रद्धाञ्जली अर्पण गर्न चाहने सबै इष्टमित्र, आफन्तजन तथा शुभेच्छुहरूलाई मंगलबार बिहान ११ बजे लेटाङ–३ स्थित चिसाङ गंगामा हुने अन्त्येष्टि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
लेटाङले एक असल राजनीतिक अभिभावक गुमाएको भन्दै विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।



















