एजेन्सी— रुसको कामचटका प्रायद्वीप नजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार बुधबार बिहान गएको यस भूकम्पको केन्द्रबिन्दु समुद्र सतहबाट १९.३ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पपछि अमेरिका, जापान लगायतका देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८:२५ बजे भूकम्प गएको पुष्टि गरेको छ। एजेन्सीले जापानको प्रशान्त तटमा करिब १ मिटर उचाइसम्मको सुनामी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार भूकम्प जापानको होक्काइडो टापुबाट करिब २५० किलोमिटर टाढा महसुस गरिएको थियो, तर ठूलो क्षतिको खबर भने आएको छैन।
अमेरिकाको अलास्कास्थित राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलेउटियन टापुका केही क्षेत्रमा चेतावनी जारी गर्दै क्यालिफोर्निया, ओरेगन, वासिङ्टन र हवाई टापुहरूलाई निगरानीमा राखेको छ।
अमेरिकी सुनामी चेतावनी केन्द्रले इक्वेडर र रुसका केही तट क्षेत्रमा समुद्रको छाल सामान्य सतहभन्दा ३ मिटर उचाइसम्म आउन सक्ने सम्भावना रहेको जनाएको छ। यस्तै, चिली, हवाई, जापान, सोलोमन टापु लगायतका केही क्षेत्रमा १ देखि ३ मिटरसम्मको छाल आउन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
हालसम्म जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ तर अधिकारीहरू सतर्क रहन र समुद्र तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिरहेका छन्।



















