काठमाडौं — सन् २०२६ को आइसीसी टी–२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै छनोट प्रतियोगिता जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने जानकारी दिएको हो।
ग्लोबल छनोटमा नेपालसहित १० देश सहभागी हुनेछन्। नेपालले हालै सम्पन्न एसियाली छनोटमा दोस्रो स्थान हात पार्दै इतिहासमै पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो। एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपाल छनोट भएका छन् भने अमेरिका क्षेत्रबाट अमेरिका सहभागी हुनेछ।
त्यस्तै २०२४ को टी–२० विश्वकप खेलेका बंगलादेश र आयरल्याण्ड सिधै छनोट भएका छन्। अफ्रिका र युरोप क्षेत्रबाट २–२ देश तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट १ देश छनोट हुनेछन्।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिनेछ। प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्। त्यसपछि सुपर सिक्सको शीर्ष चार टोलीले २०२६ को विश्वकपमा स्थान बनाउनेछन्।
विश्वकप इङ्ल्याण्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्नेछन्। आगामी जुन १२ देखि जुलाई ५ सम्म चल्ने प्रतियोगिताका लागि आयोजक इङ्ल्याण्ड, अस्ट्रेलिया, भारत, न्युजील्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सिधै छनोट भइसकेका छन्।
पाकिस्तान र श्रीलंका पनि वरियताका आधारमा विश्वकपका लागि छनोट भइसकेका छन्।
आईसीसीले खेल तालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ।




















