काठमाडौं, १२ असोज । शहरी क्षेत्रका युवामा इ–सिगरेट प्रयोग फेसनकै रुपमा हुने गरेको छ । तर छिमेकी देश भारतमा भने इसिगरेट (इलेक्ट्रोनिक चुरोट) प्रतिबन्ध लगाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरुलाई नयाँ नशाबाट टाढा राख्न इसिगरेट प्रतिबन्ध लगाइएको बताएका छन् । उनले हरेक महिना सम्बोधन हुँदै आएको रेडियोको ‘मन कि बात’ कार्यक्रममा बोल्दै आइतबार यस्तो जानकारी दिएका हुन्।

प्रधानमन्त्री मोदीले इसिगरेटमा हानिकारक तत्वहरु हुने र त्यसले स्वास्थ्यमा नकारात्मक असर पर्ने बताउँदै प्रतिबन्ध लगाइएको बताए । भारतमा कसैले इसिगरेट बेच्ने, किन्ने वा बनाउने कृयाकलाप गरे १ लाख भारतीय रुपैयाँ जरिवाना तिराइने गत बुधबार नै निर्णय भएको भारतीय सञ्चार द हिन्दुले बताएको छ ।

यो निर्णय भए पनि भारतीय संसदबाट पारित भएको छैन। अमेरिकाका केही प्रदेश, जापान, सिंगापुर लगायतका राष्ट्रहरुले पनि यसअघि इ सिगरेटलाई प्रतिबन्ध लगाएका थिए । एजेन्सी