कुशीनगर (यूपी) — भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा अन्धविश्वासले भरिएको एक भयावह घटना सार्वजनिक भएको छ । दस वर्षीया बालिकाको शवलाई तन्त्रक्रियामार्फत पुनर्जीवन दिने विश्वासका साथ चिहानबाट निकालिएको रहस्य खुल्न आएको हो ।

घटना कुशीनगर जिल्लाको पटहेरवा क्षेत्र अन्तर्गत सहदौली गाउँमा भएको हो । स्थानीय प्रहरीका अनुसार बालिकाको मृत्युपछि गत जुलाई १८ मा अन्त्येष्टि गरिएको थियो । तर तीन दिनपछि जुलाई २१ मा चिहान खाली भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

झाडीमा भेटियो शव, साथमा साडी र बुर्का

प्रहरीको खोजतलासपछि शव चिहानदेखि करिब १०० मिटर टाढा सुनसान टावर नजिकको झाडीमा फेला परेको थियो । शवको छेउमा साडी र बुर्का पनि भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि यो घटना तन्त्रक्रियासँग जोडिएको पुष्टि गरेको छ ।

आमाकै नेतृत्वमा तन्त्रक्रिया

प्रहरीका अनुसार मृत बालिकाकी आमा जुबैदा खातुनले आफ्नी छोरीलाई तान्त्रिक विधिबाट जिउँदो बनाउन सकिने विश्वास गरेकी थिइन् । यही विश्वासले प्रेरित भएर उनले आफ्नी बहिनी सुबैदा, सुगनु खान र तबारकलाई साथमा लिएर शव चिहानबाट निकालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

तर तन्त्रक्रिया सफल नभएपछि र पक्राउ पर्ने डरले शवलाई झाडीमा छाडेर भागेको प्रहरीको भनाइ छ । चारै जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

अन्धविश्वासको गम्भीर परिणाम

स्थानीयहरूले घटनालाई दुःखद र अन्धविश्वासको चरम अभिव्यक्ति भएको प्रतिक्रिया दिएका छन् । बालिका गुमाइसकेकी आमाले पुनर्जीवनको आशामा यस्तो कदम चाल्नु समाजमा चेतना र शिक्षाको खाँचो रहेको प्रमाण भएको उनीहरूको भनाइ छ ।

सर्कल अफिसर राकेश प्रताप सिंहका अनुसार, चिहानबाट शव हराएको खबरपछि सुरु गरिएको अनुसन्धानले घटनाको सम्पूर्ण पर्दाफास भएको हो ।