वाशिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पूर्वसूचना बिना वाशिङ्टन डीसीमा ८०० नेशनल गार्ड तैनाथ गर्न आदेश दिएका छन् । आदेश लागू भएसँगै आधी रातदेखि जवानहरूले सडकमा मोर्चा सम्हाल्न थालेका छन् । केही जवान सडकमा गस्तीमा रहेकाछन् भने केही प्रशासन र लजिस्टिकको जिम्मेवारीमा खटिएका छन् ।

यो कदमले अमेरिकाभित्र हलचल मच्चाएको छ । कारण, वाशिङ्टनमा अपराध दर घट्दो क्रममा छ । मेट्रोपोलिटन प्रहरीका तथ्यांकअनुसार २०२४ मा हिंसात्मक अपराध ३५ प्रतिशतले घटेको छ भने एफबीआईले पनि ९ प्रतिशत कमी आएको जनाएको छ । २०२५ को सुरुवातमै डकैती २५ प्रतिशत र हत्या १२ प्रतिशतले घटेका छन् ।

अमेरिकामा नेशनल गार्ड सडकमा उतार्नु सामान्य घटना होइन । प्रायः यो फोर्स ठूलो दंगा, प्राकृतिक विपत्ति वा राष्ट्रिय सुरक्षासम्बन्धी संकटमा मात्र प्रयोग गरिन्छ । यसअघि २०२० मा ब्ल्याक लाइभ्स म्याटर आन्दोलन, २०२१ मा क्यापिटल हिल दंगा र १९६८ मा मार्टिन लुथर किङ जूनियरको हत्या पश्चात् वाशिङ्टनमा गार्ड तैनाथ गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले भने यो कदम राजधानीलाई गैंगको प्रभावबाट मुक्त गर्न आवश्यक भएको दाबी गरेका छन् । तर, सामान्य अवस्थामा समेत यस्तो कदम चालिनु राजनीतिक वृत्त र आमजनमानसमा प्रश्नको विषय बनेको छ ।