नयाँ दिल्ली — भारतको सर्वोच्च अदालतले राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा आवारा कुकुरको बढ्दो त्रासलाई नियन्त्रण गर्न कडा निर्देशन दिएको छ। सर्वोच्च अदालतले दिल्ली, गुरुग्राम र नोएडाका अधिकारीहरूलाई ६ हप्ताभित्र ५ हजार आवारा कुकुर समात्न आदेश दिएको छ।

दिल्ली म्युनिसिपल कर्पोरेशन (एमसीडी) र भर्खरको सर्वेक्षण अनुसार, दिल्लीमा आवारा कुकुरको संख्या करिब १० लाख पुगेको छ। यो ठूलो जनसंख्याले यहाँका मानिसहरूलाई खतरामा पारिरहेको छ। अदालतले एमसीडी र नयाँ दिल्ली नगरपालिकालाई तुरुन्तै कुकुरहरूको लागि आश्रय गृह स्थापना गर्न र ८ हप्ताभित्र त्यसको रिपोर्ट पेश गर्न निर्देशन दिएको छ।

सन् २०२३ मा दिल्लीमा मात्रै ४.७ लाख कुकुरको बाँझीकरण (नसबंदी) गरिएको थियो। यो संख्या आवश्यक भन्दा कम हुँदा कुकुरको टोकाइ र रेबिजका घटनाहरू तीव्र रूपमा बढेका छन्।

एनसीआरको अन्य क्षेत्रहरू नोएडा, गाजियाबाद र गुरुग्राम पनि आवारा कुकुरको समस्याबाट पीडित छन्। नोएडामा २०२५ को पहिलो पाँच महिनामा ५२,७०० भन्दा बढी कुकुर टोकाइका घटना रिपोर्ट भएका छन्। गाजियाबादमा पनि कुकुर आक्रमणका घटनाहरू उल्लेखनीय रूपमा वृद्धि भएका छन्।

दिल्लीमा १० लाख कुकुर समातेर आश्रय गृह तयार पार्न सक्नु भनेको स्थानीय प्रशासनका लागि ठूलो चुनौती हो। एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) का अनुसार, सन् २०२२ मा दिल्लीमा कुकुर टोकाइका ६,७०० घटना रेकर्ड भएका थिए भने २०२४ मा ती संख्या बढेर २५ हजार पुगेको छ। यस अवधिमा कुकुर टोकाइ घटनामा २७७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ।

यस वर्ष अहिलेसम्म दिल्लीमा २६,३३४ कुकुरले टोकेको घटना सार्वजनिक भएको छ। तीमध्ये ९,९२० केस दिल्ली नगर निगमका अस्पतालहरूमा रेकर्ड छन् भने १५,१०० केस एन्टि-रेबिज खोप केन्द्रहरूमा।

कुकुरले टोक्ने मात्र होइन, रेबिजको जोखिम पनि बढ्दो छ। सन् २०२३ मा दिल्लीकी मेयर शैली ओबेरोयले यहाँ करिब ६ लाख आवारा कुकुर रहेको जानकारी दिँदै समस्या प्रति सचेत गराएकी थिइन्।