काठमाडौं, १३ असोज । शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ । पशु सेवा विभागले स्वस्थ खसी बोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान शुरु गरेको छ ।

अभियान आइतबारदेखि शुरु भएको छ । खसीबोकाको अत्यधिक कारोबार हुने कलंकी, बालाजु बाइपास, टुकुचा बजार, लोकन्थली, सल्लाघारी, साँगा, सतुंगल र चोभारमा अस्थायी रूपमा पशु चिकित्सकको टोली परिचालन गरी खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गरिएको छ ।

सतुंगल र चोभारमा राँगाको समेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । विभागकी उपमहानिर्देशक डा.सम्झना काफ्लेले यो अभियान एक सातासम्म सञ्चालन हुने जानकारी दिइन् । प्रत्येक टोलीमा एक वरिष्ठ पशु चिकित्सक र चार जना सहायक पशु चिकित्सक गरी पाँचजना खटाइएको छ ।

काफ्लेअनुसार पशु चिकित्सकले दसैंमा उपभोग गर्न ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ ठहरिएकाको सिङमा रातो चिन्ह लगाउने व्यवस्था गरिएको छ ।

बिक्रीस्थलमा हरियो र रातो चिन्ह हेरेर मात्रै खसीबोका खरिद गर्न विभागले आग्रह गरेको छ । ‘दशैंको मौका छोपेर व्यापारीले रोग लागेका खसी बोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना हुन्छ’, डा.काफ्लेले भनिन्, ‘मानव स्वास्थलाई ध्यान दिँदै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्य शुरु गरेको हो ।’

पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिँगान र ¥याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम पहिचान गरी हरियो र रातो रङ प्रदान गर्नेछन् ।

यस्तै गिजा र खुट्टाको खुरमा घाउ, लंगडाउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा र रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्टयाउने, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्ष्णको पहिचान गर्नेछन् । परीक्षणका क्रममा यस्ता कुनै लक्षण नभेटिने खसीबोकालाई स्वस्थ ठहर गरेर सिङमा नखुइलिने विशेष खालको हरियो रङ लगाएर व्यापारीलाई बिक्री गर्न अनुमति दिइएको छ ।

निमोनिया, ज्वरो र डायरिया जस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेविज र घुमाउने रोग लागेका खसीबोकाको सिङमा रातो चिन्ह लगाएर विशेष निगरानीमा राखेर उपचार गरिने छ । ‘यसमध्ये निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएर उपचार पश्चात स्वस्थ भएका खसीबोकालाई पुनः बिक्री गर्न बजार पठाइनेछ’, काफ्लेले भनिन्, ‘तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोका बेच्ने अनुमति छैन ।’

पशु चिकित्सकका अनुसार कडा खालको ज्वरो, पीपीआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसी बोकाको मासु मानवस्वास्थका लागि अत्यन्त घातक मानिन्छ । यस्ता रोगबाट प्रभावित खसी बोकाको मासु खाँदा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने सम्भावना हुन्छ ।

उपत्यकामा गरिएको एक अध्ययनअनुसार यहाँ भित्रिने पशुपंक्षीमध्ये ११.४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको छ । यस्ता जीवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्छ । अध्ययनअनुसार मानिसमा लाग्ने सरुवा रोगमध्ये ७५ प्रतिशत पशुपंक्षीबाट सर्छ । विभागका अनुसार दसैंको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढ्छ ।

दसैंमा देवी दुर्गालाई बली दिन तथा घरमा मार हानेर मासु खाने चलन बढ्दै गएकाले करिब ६० हजार खसीबोका (१२ लाख किलो मासु), १० हजार च्यांग्रा र तीन हजार भेडा र सयभन्दा बढी राँगाको खपत हुन्छ । सप्तमीदेखि प्रतिव्यक्ति उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर दुई सय १२ ग्राम पुग्छ । अन्नपूर्ण पोष्टबाट