काठमाडौं—युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको उच्चस्तरीय वार्तालाई “अहिलेसम्मकै उत्कृष्ट” भनेका छन्।
ट्रम्पको निमन्त्रणामा सोमबार व्हाइट हाउसमा सम्पन्न उक्त बैठकमा जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पनि तयार रहेको बताएका छन्।
बैठकमा सहभागी युरोपेली नेताहरूले युद्धविराम, सुरक्षा प्रत्याभूति र युक्रेनको सार्वभौमिकताको पक्षमा जोड दिएका थिए।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले छलफलले नेताबीचको वास्तविक एकताको संकेत दिएको उल्लेख गर्दै “युक्रेनबारे कुनै पनि निर्णय युक्रेनकै सहमति बिना हुन सक्दैन” भने।
जर्मन चान्सलर फ्रिडरिख मर्जले राष्ट्रपति ट्रम्पलाई रूसमाथि युद्धविरामका लागि दबाब दिन आग्रह गर्दै भने, “म कल्पना गर्न सक्दिनँ, युद्धविरामबिनाको अर्को बैठक सम्भव छैन।” उनका अनुसार, पुटिनले दुई साताभित्र जेलेन्स्कीसँग वार्ता गर्न सहमति जनाइसकेका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले युद्धविरामको समर्थन गर्दै युरोपेली सैन्य बलले अब युक्रेनमा प्रत्यक्ष खुट्टा टेक्नुपर्ने बेला आएको बताए।
फिनल्यान्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबले अमेरिकी सुरक्षा प्रत्याभूतिबारे कुनै ठोस निष्कर्ष ननिस्किएको टिप्पणी गर्दै भने, “पुटिनमाथि विश्वास गर्न सकिँदैन।”
युरोपेली आयोगकी अध्यक्ष उर्सुला वोन डेर लेयेनले युद्धका मानवीय पक्षमा ध्यानाकर्षण गर्दै रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको तत्काल फिर्तीको माग गरिन्। “यो युद्धको मानवीय मूल्य अब अन्त्य हुनुपर्छ,” उनले भनिन्।
नाटो महासचिव मार्क रुट्टेले ट्रम्पलाई “व्यवहारिक शान्तिकर्ता” को संज्ञा दिँदै सुरक्षा प्रत्याभूतिको खाका तयार पार्ने काम केही दिनभित्र सुरु हुने जानकारी दिए।




















