काठमाडौं — आज भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व देशभर धार्मिक उत्साह र उल्लासका साथ मनाइँदैछ । देवाधिदेव महादेवको पूजाआराधना गरी महिलाहरूले अटल सौभाग्य र पारिवारिक सुख–समृद्धिको कामना गर्दै निराहार र निर्जला व्रत बसिरहेका छन् ।

जनविश्वासअनुसार देवी पार्वतीले भगवान शिवलाई वरका रूपमा प्राप्त गर्न तीजको व्रत बसेपछि यो पर्व सुरु भएको मानिन्छ । यस दिन महिलाहरूले नाचगान, भजन–कीर्तनसहित शिवपूजा गर्ने प्रथा छ । हिजोको दर खाने परम्परापछि आज निराहार व्रत बस्ने चलन कायम छ ।

तीजको दिन काठमाडौं उपत्यकाका शिवालय र शिवमन्दिरमा भक्तजनको ठूलो भीड देखिन्छ । विशेषगरी पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका विवाहित र अविवाहित महिलाहरूको बाक्लै उपस्थिति देखिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनलाई सहज दर्शनको सुविधा मिलाउन मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खोलिएका छन् । दर्शनमार्ग, जुत्ता–चप्पल कक्ष, स्वयंसेवा, चन्दन–प्रसाद वितरणदेखि आकस्मिक स्वास्थ्य सेवासम्मका व्यवस्था गरिएको कोषले जनाएको छ ।

तीज पर्वको अवसरमा महिला कर्मचारीलाई आज सार्वजनिक बिदा दिइएको छ ।