रुपन्देही—रुपन्देहीमा उपनिर्वाचनको माहोल तातिरहेको बेला दक्षिणी क्षेत्रको राजनीतिमा प्रभावशाली मानिएका दुई पालिकाका पूर्वअध्यक्षसहित ठूलो समूहले एमाले रोजेका छन् ।
मर्चवार क्षेत्रमा हरेक निर्वाचनको पूर्वसन्ध्यामा पार्टी परिवर्तन गरेर उम्मेदार बन्ने समरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बानिया आफ्नो ठूलो समूह लिएर एमाले रोजेका हुन् ।
एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीको दावी अनुसार उनीहरुले ३ हजार स्थानीयलाई लिएर एमाले रोजेका हुन् । नेकपा एमालेका उपाध्यक्ष तथा उप एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उनीहरुलाई मर्चवारमै पुगेर स्वागत गर्न लागेका छन् ।
सम्मरीमाई ६ असुरैना निवासी शुक्ला गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरमबाट ०७४ मा पालिका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि कांग्रेस अनि एमाले हुँदै ०७९ मा माओवादीमा प्रवेश गरेर स्थानीय तहमा उम्मेदार बनेर पराजित भएका थिए ।
त्यही वर्ष जनमत प्रवेश प्रवेश गरेर प्रदेश सभाको उम्मेदार बनेपनि पराजित भएका थिए । ०७४ पछि पराजित भएका उनी अहिले पुनः एमाले रोजेका हुन् । सो क्षेत्रमा व्यक्तिगत प्रभाव रहेका उनको साथमा स्थानीय पनि उतै लाग्ने गरेका छन् । आज उनकै घरअघि असुरैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ ।
त्यसैगरी मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केवशनन्द बानिया पनि एमालेमा लागेका छन् । ०७४ मा उपेन्द्र यादव समूहको मधेसी जनअधिकारबाट जितेका उनले ०७९ लोसपामा साइकल लिएर लडे पनि हारेका थिए । मर्चवारी ३, रायपुर निवासी बानिया पनि सो क्षेत्रका राजनीतिक खेलाडी हुन् । त्यहाँ पनि उनीसँगै पार्टी परिवर्तन गर्ने ठूलो समूह रहेको छ ।
रुपन्देहीको मर्चवार क्षेत्रमा अन्तभन्दा कमजोर रहेको एमालेमा भावी उम्मेदारकै हिसाबले उनीहरुको प्रवेशले दक्षिणी क्षेत्रमा पार्टी संगठन बलियो बनेको एमाले नेताहरुको आंकलन छ ।




















