काठमाडौं — देशभर डेङ्गी संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ४ हजार ८१४ जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ।
उनका अनुसार डोल्पा, हुम्ला र मनाङबाहेक सबै जिल्लामा संक्रमण देखिएको छ। हालसम्म संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।
डा. दाहालले वर्षा रोकिएर जाडो सुरु भएपछि संक्रमणको जोखिम क्रमशः घट्दै जाने अपेक्षा व्यक्त गरे।
प्रदेशगत तथ्यांकअनुसार कोशी प्रदेशमा ७१४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा १,०६४, गण्डकी प्रदेशमा १,२७३, लुम्बिनी प्रदेशमा ८४३, कर्णाली प्रदेशमा २७० र सुदूरपश्चिम प्रदेशमा ५५५ जनामा डेङ्गी संक्रमण देखिएको छ।



















