नवलपरासी—मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको गैँडाकोटमा हत्या भएको छ। प्रहरीले दिएको जानकारी अनुसार ५–८ जनाको समूहले शुक्रबार राति इँट्टाभट्टा नजिक धारिलो हतियार प्रहार गरी २८ वर्षीय कुमालको हत्या गरेको हो।
एसपी युवराज खड्काका अनुसार मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन्। हत्यामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
कुमाल जेनजी प्रदर्शनको क्रममा भिमफेदी कारागारबाट फरार भएका थिए। उनीमाथि बलात्कारको कसुरमा अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना फैसला गरेको थियो। प्रहरीले जनाएको छ कि उनी भदौ २४ गते कारागारबाट भागेका थिए र २०७४ साउन ३ मा पक्राउ परेका थिए।



















