काठमाडौं — स्वास्थ्य विशेषज्ञका अनुसार काजु सबै उमेर समूहका मानिसका लागि लाभदायक मानिन्छ। थोरै मात्रामा सेवन गर्दा पनि यसले शरीरलाई धेरै फाइदा पुर्‍याउने गर्छ।

काजुमा म्याग्नेसियम, तामा, फलाम, पोटासियमलगायतका तत्व पर्याप्त मात्रामा पाइन्छन्। यी तत्वहरूले शरीरलाई स्वस्थ राख्न, रक्तचाप नियन्त्रण गर्न र ऊर्जा थप्न मद्दत गर्छन्।

विशेषज्ञहरूका अनुसार दैनिक दुईदेखि तीन वटा काजु सेवन गर्नाले शरीरमा स्फूर्ति बढ्ने, अनुहार चम्किलो हुने र दिमाग तेजिलो बन्ने गर्छ। काजुमा सोडियमको मात्रा कम र पोटासियमको मात्रा बढी हुने भएकाले मुटुका लागि पनि उपयोगी मानिन्छ।

त्यस्तै, काजुले कोलेस्टेरोल नियन्त्रण, हड्डी र दाँत बलियो बनाउन, कब्जियत कम गर्न तथा गर्भवती महिलाको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउने बताइन्छ।

तर काँचो काजु खानु हुँदैन। काँचो काजुमा ‘उरुसिओल’ नामक विषालु रसायन हुने भएकाले त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ।

विशेषज्ञहरूले सन्तुलित मात्रा (दैनिक दुई–तीन वटा) काजु सेवन गर्न सुझाव दिएका छन्।