काठमाडौं — सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राष्ट्रिय मानवअधिकार आयोगले विशेष छलफलका लागि बोलाएको छ।
आयोगका अध्यक्ष तपबहादुर मगरले आज बिहान ११ बजेका लागि प्रसाईंलाई वार्तामा उपस्थित हुन खबर गरेको प्रसाईँको तर्फबाट जनाइएको छ।
सामाजिक सञ्जालमार्फत प्रसाईँ पक्षले मिडियाकर्मीहरूलाई पुल्चोकस्थित आयोगको कार्यालयमा भेला हुन आह्वान गरेको छ।
सरकारविरोधी प्रदर्शनका क्रममा प्रसाईँले अघिल्ला महिनाहरूमा दिएको आक्रामक अभिव्यक्ति र चैत १५ गते तीनकुनेमा भएको बितण्डाका कारण सुरक्षा निकायहरू चनाखो बनेका छन्।
यसअघि कात्तिक ८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूले प्रसाईंको गतिविधिबारे सुरक्षा मूल्याङ्कन बैठक गरेका थिए।
त्यसअघि नै असोज ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र चारवटै सुरक्षा निकायका प्रमुखबीच पनि प्रसाईंको गतिविधिबारे उच्चस्तरीय छलफल भएको थियो।
सरकारी स्रोतका अनुसार सो बैठकमा पहिले प्रसाईंलाई बोलाएर सम्झाइबुझाइ गर्ने र त्यसपछि पनि गतिविधि रोकिएन भने कानुनअनुसार कारबाही गर्ने निष्कर्ष निकालिएको थियो।



















