काठमाडौं—हिजो सामाजिक सञ्जालमा आज दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता भनिने निकोलस भुसाल हाल बेपत्ता भएका छन्।
प्रहरीका अनुसार, भुसालले लागूऔषध सेवन गरी कार्यक्रमको घोषणा गरेका थिए र त्यसले सम्भावित मुठभेड निम्त्याउने खतरा रहेको भन्दै उनलाई नियन्त्रणमा लिन प्रयास गरिएको थियो। तर, उनी फेला परेका छैनन्।
उनको बस्ने डेरामा प्रहरी पुगेको समयमा ढोका ताला लागेको पाइयो र उनी फरार भएका थिए। साथै, मोबाइल पनि अफ रहेको बताइएको छ।
प्रहरीका अनुसार, भुसालले आइतबार अपराह्न २ बजे सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने, साथै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखकको निवास घेरेर समात्ने धम्की दिएका थिए।
सो धम्कीपछि नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले चेतावनी दिएका थिए कि यदि प्रहरीले उनलाई आजै पक्राउ नगरे राष्ट्रिय युवा संघले माइतीघरबाट नियन्त्रणमा लिनेछ।
उनी यसअघि गत असोज २३ गते पनि माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेका थिए। स्वास्थ्य जाँचमा गाँजा सेवन गरेको पुष्टि भएको र सुधार गृहमा लैजाने सर्तमा परिवारलाई जिम्मा लगाइएको थियो। तर सुधार गृहमा जानुको सट्टा उनी प्रहरीबाट छुट्ने बित्तिकै पुनः प्रदर्शनमा उत्रिएका थिए।
प्रहरीले हाल पनि उनको खोजी अभियान जारी राखेको छ।



















