रियाद, १९ असोज । साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ ।

कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ ।

तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधिकरण गर्ने उपायस्वरुप पर्यटन प्रबर्धनलाई अघि सारेका छन् ।

साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ ।

विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटल समक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो । ‘पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन’, विज्ञप्तिमा भनिएको छ ।

साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानुनमा सुधार गरी पर्यटन प्रबर्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो । साउदी अरेबियाले विगतमा मुस्लिम तीर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो ।

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्ध समेत ४९ मुलुकका नागरिकले अनलाइन ई–भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ ।

तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानुन विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियाम अघि सारेको छ । रासस–एएफपी