स्वास्थ्य समाचार— भिटामिन–डीको कमी नेपालमा तीव्र रूपमा बढ्दो स्वास्थ्य समस्या बनेको छ। यो भिटामिन सम्पूर्ण स्वास्थ्यका साथै विशेषगरी हड्डी मजबुत बनाउन अत्यन्तै आवश्यक मानिन्छ। पर्याप्त क्याल्सियम सेवन गरिरहेको भए पनि यदि शरीरमा भिटामिन–डीको मात्रा कम छ भने हड्डी कमजोर नै रहन्छन्।

डाक्टरहरूका अनुसार हड्डीको स्वास्थ्य जोगाउन भिटामिन–डीको योगदान महत्वपूर्ण हुन्छ। तर धेरैलाई यसको कमी पूर्ति गर्न कति समय र कहिले घाम लिनु उत्तम हुन्छ भन्नेबारे जानकारी हुँदैन।

के बिहानको घाम पर्याप्त हुन्छ?

विशेषज्ञहरू भन्छन्—बिहान ७–८ बजेको घामबाट पर्याप्त भिटामिन–डी बन्न सक्दैन।

बिहानको समयमा वातावरणमा यूवी–बी किरणको मात्रा धेरै कम हुने भएकाले छालाले भिटामिन–डी उत्पादन गर्न सक्दैन।

भिटामिन–डीका लागि उत्तम घाम कहिले?

सबैभन्दा प्रभावकारी समय — बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म।

यस अवधिमा सुर्यका किरण सीधा छालामा पुग्ने भएकाले यूवी–बीको मात्रा पर्याप्त हुन्छ, जसले छालामुनि रहेको कोलेस्ट्रोललाई भिटामिन–डीमा परिवर्तन गर्छ।

कति समय घाम लिनु उचित?

घाम लिने समय छाला, उमेर र मौसमका आधारमा फरक–फरक हुन सक्छ। गोरो छाला: १५–२० मिनेट, खैरो वा गाढा छाला: ३०–४५ मिनेट, बुढापाकामा  भिटामिन–डी उत्पादन क्षमता घट्ने भएकाले अझै बढी समय आवश्यक हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरू

घाम सेक्दा हात, खुट्टा, ढाड जस्ता हिस्सा खुला राख्नु राम्रो। सनस्किन लगाएर बसेमा भिटामिन–डी बन्दै बन्दैन। काँचको झ्यालबाट आएको घामले यूवी–बी रोकिदिने भएकाले फाइदा हुँदैन।

हड्डीका लागि भिटामिन–डी किन आवश्यक?

क्याल्सियम अवशोषण: आन्द्राले क्याल्सियम सोस्न भिटामिन–डी अनिवार्य हुन्छ। हड्डी मजबुती: भिटामिन–डीले हड्डी निर्माण र मिनरलाइजेसन प्रक्रियालाई नियन्त्रण गर्छ, जसले हड्डी कडा र बलियो बनाउँछ।

भिटामिन–डीको गम्भीर कमी हुँदा—बालबालिकामा रिकेट्स (हड्डी टेढा–मेढा र कमजोर), वयस्कमा अष्टियोम्यालेसिया (हड्डी दुख्ने, मांसपेशी कमजोर हुने) देखिन सक्छ।