काठमाडौं—जेन–जी विद्रोहपछि एकाएक उदाएका सुधन गुरुङले गोरखामा सुरक्षा थ्रेट भयो भनेर सहयोग मागिरहँदा उनी गृहमन्त्री ओमप्रकाश अर्यालको ब्ल्याक लिस्टमा परेको खुलेको छ । रास्वपाबाट गोरखा १ मा उम्मेदवारी दिएका उनले आफूलाई सुरक्षा खतरा रहेको भन्दै तारन्तार सञ्चार सेट र हतियारसहितको अंगरक्षक मागेको छरपष्ट भइसकेको छ ।
‘उनले अरुको हैन, आफ्नै कुरा गरेका हुन् । थ्रेट एनालइसिस त सरकारले गर्ने हो नि ! व्यक्तिले भन्दैमा हुन्छ ?’ स्रोतले भन्यो, ‘गृहमन्त्रीले सुधनको फोन ब्ल्याक लिस्टमा राखेका छन् । त्यसैले प्रधानमन्त्रीसम्म कुरा आएको थियो तर सुधनको दावी प्राथमिकतामा परेको छैन ।’ गृहमन्त्रीले आफूलाई ब्ल्याक लिस्टमा राखेपछि सुधनले सुशीला कार्कीलाई गुहारेको स्रोतको भनाइ छ । ‘नदिने निर्णय भएको छैन । प्राथमिकतामा नपरेको भने सही हो तर जिल्ला सुरक्षा समितिको सिफारिस पनि आएको छैन,’ स्रोतले भन्यो, ‘उता उसलाई गाउँमा केही घटना भएको पनि छैन ।’ अर्को स्रोतका अनुसार सुधनले गोरखामा हतियार बोकेका मान्छे आएको भन्ने गरेका छन् ।
सुधनले जेलबाट निस्केकाबाट भन्दा पनि एमालेको युवा संघले लक्ष्य गर्न सक्ने डर पालेका हुन् । सार्वजनिक रूपमा अनावश्यक टिप्पणी र तारन्तार माग तेस्र्याउन थालेपछि गृहमन्त्रीले सुधनलाई ब्ल्याक लिस्टमा राखेको बुझिएको छ । पुराना नेताहरूलाई नपक्रिएको भनेर सुधनले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि सार्वजनिक रूपमै पटकपटक दबाब बढाएका थिए । शुरुमा गृहमन्त्रीले पनि हौसिएर पूर्व प्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गराउन खोजे । तर यथेष्ट तथ्य र प्रमाण विना पक्राउ गर्न नमिल्ने अवस्था बुझेपछि आफैं ब्याक भए । तैपनि सुधनले राजीनामा माग्न छोडेनन् । यसैले उनको सम्पर्कबाट गृहमन्त्री टाढै बसेको स्रोत बताउँछ । ठूला र चर्चित कसैले केही नभने पनि सुधन, सिके राउतदेखि प्रभु साहसम्मले सरकारी सुरक्षाकर्मी मागेका छन् ।
‘पिएसओ चाहियो भन्दै फोन गरिरहन्छन् । यसबारे जिल्लाहरूले बुझ्ने क्रम जारी छ तर कुनै प्रक्रिया अगाडि बढेको छैन,’ स्रोतले भन्यो ।
जन आस्था साप्ताहिक बाट




















