गणतन्त्र मेरो सपना थियो। म गणतन्त्रकै लागि कम्युनिस्ट पार्टीमा सामेल भएको हुँ। मैले सुरु-सुरुमा सुनेका र पढेका प्रगतिशील पुस्तकहरूले पनि गणतन्त्रकै कारण मलाई कम्युनिस्ट पार्टीप्रति आकर्षित गरेका थिए। गणतन्त्रमा पनि बुर्जुवा गणतन्त्र होइन, जनवादी गणतन्त्र नेपाल! जनवादी गणतन्त्र नेपाल भनेपछि हामी स्वर्गकै कल्पना गर्थ्यौं, जहाँ 'जनता' भन्ने प्राणी मालिक हुनेछन्। जनता मालिक हुँदा हामी पनि स्वतः मालिक हुनेछौँ। जनता अर्थात् मजदुर र किसान—जो श्रम गरेर बाँच्ने गर्छन्। जनवादी गणतन्त्र, जुन श्रमजीवी वर्गको राज्य हो; त्यही राज्यको कल्पना गरेर नै म कम्युनिस्ट पार्टीको सदस्य भएको थिएँ। पार्टीले त्यही गणतन्त्र ल्याउने लक्ष्य पूरा गर्ने समय अब आएको थियो।

२०५९ सालमा जब राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए, राजाले सत्ता हातमा लिनेबित्तिकै मुलुक गणतन्त्रको बाटोमा जाने निश्चितप्रायः थियो। ज्ञानेन्द्रले दलहरूमाथि लगाएको आरोप स्वीकार गर्न दलहरू तयार हुने कुरै थिएन। राजा ज्ञानेन्द्रले ढंग पुऱ्याएर सरकार चलाउने कुरा सम्भवै थिएन। 'बेढङ्गका राजा र विवेक नभएको शासक काम लाग्दैन' भन्थे। राजा ज्ञानेन्द्रले पाँच वर्ष शासन गरे। न त ढंग पुऱ्याए, न त विवेक भएका कसैलाई साथमा नै लिए। ज्ञानेन्द्रले आफ्नो नाममा शासन गर्नका लागि देश छोडेर भागेका तुलसी गिरी र राजनीतिबाट थाकेर बसेका कीर्तिनिधि विष्टलाई रोजे।

उनीहरूले गन्हाएका कम्युनिस्ट र कांग्रेसहरू खोजेर ल्याए। बाहिर बसेका मानिसहरूले खुट्टी हेर्दै चाल पाए। यसको नतिजा—राजा असफल भए, दलहरूले ठाउँ पाए र गणतन्त्रको बाटो फराकिलो भयो। त्यतिबेला माओवादीहरू समेत सशस्त्र युद्धको विकल्प खोजिरहेका थिए। राजासँग उनीहरूको वार्ता सफल हुने सम्भावना थिएन। दलहरू पनि राजतन्त्रका विरुद्ध आन्दोलन गर्न र त्यसलाई सफल पार्न शक्ति जोहो गरिरहेका थिए। यस्तैमा २०६२ सालमा नेकपा (एमाले) ले गणतन्त्रमा जाने सोच अघि साऱ्यो। त्यही लाइनमा माओवादीहरूसँग छलफल भयो। नेपाली कांग्रेससँग पनि छलफल भयो र नेपाली कांग्रेस सहमत भयो। त्यसपछि त्रिपक्षीय वार्ता भयो। नेकपा एमाले र नेपाली कांग्रेससहित ७ दल र नेकपा माओवादीबीच सम्झौता भयो। यसले गणतन्त्र नेपालको बलियो सम्भावना देखायो। संयुक्त जनआन्दोलन हुने निश्चित भयो। हामी सबै जनआन्दोलनको तयारीमा जुट्यौँ।

नेकपा एमालेको केन्द्रीय कमिटीले मुलुकको समस्या समाधानका लागि पूर्ण लोकतान्त्रिक व्यवस्था आवश्यक भएको निष्कर्ष निकालेको थियो। पूर्ण लोकतान्त्रिक व्यवस्थाका लागि गणतन्त्रतर्फ जानुको विकल्प थिएन। हामी त्यसै बाटोमा लागिसकेका थियौँ। २०६२ माघ २२ गते वीरगन्जमा विशाल आमसभा सम्पन्न भयो। आमसभामा प्रमुख अतिथि वामदेव गौतम थिए। उनले अब राजतन्त्रको जरो उखेलेर मात्र विश्राम लिने उद्घोष गरे। वीरगन्जमा आयोजना भएको कार्यक्रमले आम जनतामा ठुलो आशा जगायो, कार्यकर्ताहरूमा उत्साह थप्यो। यसले राजावादीहरूलाई आतंकित बनायो र उनीहरू दमन गर्नतिर अग्रसर हुन थाले।

दमन कुनै पनि समस्याको समाधान थिएन, तर राजाको शासन त्यतैतिर उन्मुख भयो र गिरफ्तारी सुरु गर्यो। ठाउँ-ठाउँमा नेकपा एमाले र नेपाली कांग्रेससँग सम्बन्धित थुप्रै नेता तथा कार्यकर्ताहरू गिरफ्तार भएका समाचार आउन थाले। हामी पनि दरो गरी आन्दोलनको तयारीमा थियौँ। 'कुनै पनि बेला गिरफ्तार गर्न सक्छन्' भन्ने निष्कर्षसहित हामी अर्ध-भूमिगत रूपमा काम गरिरहेका थियौँ।

हामी कहिलेकाहीँ मात्र घरमा हुन्थ्यौँ। अनुकूलता अनुसार हाम्रो बसाइ बढी वीरगन्ज, निजगड वा देहातका गाउँबस्तीतिर हुने गर्थ्यो। एकदिन वीरगन्ज बसेका थियौँ। हामीलाई सिम्रौनगढ एरियामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जानुपर्ने भयो। वीरगन्जबाट रक्सौलको बाटो हुँदै घोडासहन जाने निर्णय गऱ्यौँ। हामीसँग अच्युतजी र अरू पनि २-३ जना साथीहरू हुनुहुन्थ्यो।

हामी रक्सौल गएर घोडासहन जान रेल चढ्यौँ। रेलमा पनि हामी आन्दोलनको तयारीसम्बन्धी छलफल गरिरहेका थियौँ। हामी बसेकै सिटको अर्कोपट्टि केही पाका भारतीय नागरिकहरू बसेका थिए। उनीहरू हाम्रो छलफल बडो ध्यानपूर्वक सुनिरहेका थिए। हामी बारम्बार देशलाई राजाको निरंकुशताबाट मुक्त गर्ने र गणतन्त्र ल्याउने कुरा गरिरहेका थियौँ। नेपालबाट राजतन्त्र उन्मूलन गर्ने कुरा उनीहरूलाई ठ्याक्कै चित्त बुझिरहेको रहेनछ।

त्यसमध्येका एकजना वृद्धले कुरा राखिहाले, "अपने सब नेपाल से हैं? क्या अपने सब नेपाल से राजतन्त्र हटाना चाहते हैं, और गणतन्त्र लाने के चक्कर में पडे हैं?" मैले भनेँ, "हो! अब हामी नेपालबाट राजतन्त्र फ्याँक्न चाहन्छौँ। हामी देशमा गणतन्त्र ल्याउन चाहन्छौँ अनि देशलाई विकासको बाटोमा लान चाहन्छौँ।" मेरो कुरा सुनेर उनले हाँस्दै भने, "नेपाल बहुत सुन्दर देश है। इतना अच्छा हिन्दू राज्य है। अभी जो है, बाद में होगा क्या? गणतन्त्र लाकर क्या करना चाहते हैं? हम लोगों का हालत देख रहे हैं, खाली रेल चढते हैं, वो भी ब्रिटेन का देन है। बाकी क्या है?" उनी बडो गम्भीरतापूर्वक भनिरहेका थिए। हामीहरूलाई उनीहरूको कुरा मन परिरहेको थिएन, उनीहरूलाई हाम्रो कुरा मन परिरहेको थिएन।

छुट्टिने बेलामा बुढाले हामीलाई गणतन्त्रको चक्करमा नपर्न विशेष आग्रह गर्न बाँकी राखेनन्। उनले आग्रह मात्र गरेनन् कि गणतन्त्रलाई 'भाणतन्त्र' भन्न पनि बाँकी राखेनन्। हामीले उनका कुरालाई खासै महत्त्व दिएनौँ। उनी गणतन्त्रको भारतीय संस्करणको कुरा गरिरहेका थिए। अर्थात् भारतीय गणतन्त्रको नकारात्मक अनुभव नै उनीहरूको पीडा थियो, उनी त्यही बताइरहेका थिए।

यस्ता अनुभव हामीसँग धेरै छन्। त्योभन्दा महत्त्वपूर्ण कुरा, हामी सम्पूर्ण शक्तिका साथ गणतन्त्र प्राप्तिको अभियानमा थियौँ। गणतन्त्र प्राप्ति हाम्रो निम्ति सम्पूर्ण समस्याको जडीबुटी थियो। त्यही जडीका लागि हामी आँखा चिम्लेर लागिरहेका थियौँ। एकदिन बेलुका हामी आफ्नै घरमा बास बस्न पुगेका थियौँ। हामी प्रायः बिहान पाँचै बजे उठ्थ्यौँ। पाँच बजे उठेर शौच-व्यायाम आदि दैनिक काम सकेर चिया पिइरहेको थिएँ, मैनालीजीले फोन गर्नुभयो। जिल्ला प्रहरी कार्यालयबाट फोन आएको रहेछ। हामी घर आएको हिजै थाहा पाएछन्। आज हामीलाई लिन प्रहरी आउँदैछ रे! "हामी के गर्ने हो कमरेड?" भन्नुभयो। मैले "तपाईंले के जवाफ दिनुभयो त?" भन्दा उहाँले "ठीकै छ नि त भनेँ, अब सम्पर्कमा आइसकेपछि कता भाग्नु" भन्नुभयो।

मैले भनेँ, "तपाईं र म दुवैजना पक्राउ पर्नु हुन्न। जिल्लामा आन्दोलन अलपत्र पर्छ। त्यसैले तपाईं सम्पर्कमा आइसक्नुभयो, म चाहिँ साइड लाग्छु।" म त्यति भनेर आफ्नै घरको छत हुँदै अर्को घरतिर हामफालेँ।

तबसम्म प्रहरीको गाडी आइसकेको थियो। म छतबाटै हामफालेर पछाडिको घरमा छिरेँ। त्यहाँबाट फेरि अर्को घरमा गएर बसेँ। पुलिसको टोलीले मैनालीजीलाई गाडीमा हालिसक्यो। अनि मलाई पनि खोज्न थाल्यो। "अघिसम्म त हुनुहुन्थ्यो" भन्दै दिनभरि ड्युटी लगाएर प्रहरी बस्यो, तर मलाई भेटेन। पुरै आन्दोलनको अवधिभर भूमिगत भएर काम गरेँ। संयुक्त जनआन्दोलन झन्-झन् चर्किँदै गयो। आन्दोलनले बिस्तारै रङ ल्यायो। अन्ततः आन्दोलन सफल भई छाड्यो। देशमा गणतन्त्र आयो। निकै दिन खुसियाली मनाइयो।

हाम्रो दुर्भाग्य! त्यसपछि पनि हामी भूमिगत हुनुपऱ्यो। आफैँले लडेर ल्याएको गणतन्त्रमा परिवारसहित विस्थापित नै हुनुपर्ने अवस्था आइपऱ्यो। तराई-मधेशमा सुरु भएको मधेश आन्दोलनले हामीहरूको चिहिलविहिल बनायो...।

(क्रमशः) (स्मरण: २०६२/०६३ को संयुक्त जनआन्दोलन)