संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनपछि कार्यक्षेत्रमा खटिएका कर्मचारीलाई हाजिर गराउन स्थानीय तह र प्रदेशलाई पत्राचार गरेको छ।

समायोजन गरेर पठाएका कर्मचारीलाई काममा लगाउन नसक्ने भन्दै हाजिरै नगराउने प्रवृत्ति बढेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

समायोजनपछि पठाइएका कर्मचारी फिर्ता हुन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजधानी आसपासका नगरपालिकाका मेयरसँग केही दिनअघि छलफलसमेत गरेका थिए।

समायोजनपछि संघले स्थानीय तहमा पठाएका ८० भन्दा बढी कर्मचारीलाई हाजिरै नगराई फिर्ता पठाएपछि यो समस्या बढै जाने चिन्ताले पत्र लेखिएको मन्त्रालय स्रोतको भनाइ छ।

सबैभन्दा बढी राजधानीका नगरपालिकाले कर्मचारी फर्काएका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

अर्को व्यवस्था नभएसम्म काममा लगाउन अनुरोध गरेको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए। ‘काममा बाधा नपुगोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने।

मन्त्री पण्डितसँगको छलफलमा मेयरहरूले आफूलाई आवश्यक नपर्ने कर्मचारी केन्द्रबाट पठाइएकाले फिर्ता गर्नुपरेको प्रतिक्रिया दिएका थिए। समायोजनका नाममा आफूहरूसँग सल्लाहै नगरी कर्मचारी थुपारिएको उनीहरूको गुनासो थियो।

काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यले समेत कर्मचारी पठाएकामा असहमति जनाएका थिए ।

काठमाडौं, ललितपुर महानगर र मध्यपुरठिमी, सूर्यविनायकलगायत नगरपालिकाले समेत केही कर्मचारीलाई काम लगाउन मानेका छैनन्, स्रोतले भन्यो, यो उनीहरूको आफैं कर्मचारी राख्ने सोच पनि हुन सक्छ।

कतिपय स्थानीय तहले आफैंले कर्मचारी राख्न पाउनुपर्ने भन्दै भर्ना गर्नसमेत थालेका थिए। राजधानीबाहिरका केही स्थानीय तहले पनि कर्मचारी फर्काएका छन्।