डडेल्धुरा, माघ ८ । चार–चार पटक प्रधानमन्त्री भएका काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा स्वाथ्य सेवा नाजुक रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।
‘देशको चार चार पटक प्रधानमन्त्री हुँदा आफ्नै गृह जिल्लामा चिकित्सक र उपचार नदिने, अनि दुई बर्ष जति बनेको सरकारको बदनाम गराउने’ मन्त्री ढकालले भने ‘म डडेल्धुरा पुग्दा काँग्रेसका नेता कार्यकर्ता डाक्टरको माग गर्दै नागरिक समाजको ब्यानरमा आए ।’ बुधबार नेकपा कञ्चनपुरले महेन्द्रनगरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले पुर्वप्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा स्वाथ्य अवस्था नाजुक भएको टिप्पणी गरे ।
‘मेरो लागि स्वास्थ्य सेवा प्रशस्त अवसर छन्’ मन्त्री ढकालले भने ‘धेरैले बिगारेर गए, राम्रो काम गर्न नेकपाकै सरकारको पोल्टामा मन्त्रालय परेको छ ।’ मन्त्री ढकालले आफु भन्दा अघिका स्वाथ्यमन्त्रीले भताभुङ्ग पारेकाले आफ्नो लागि अवसर र चुनौती बढेको बताए ।जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय सम्हाल्ने जिम्मेबारी पाएकाले स्वाथ्य क्षेत्रको सुधार गर्ने स्वास्थ्यमन्त्री ढकालले प्रण गरे ।




















