मोरङ। कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा दुई बिरामी कोशी अस्पतालबाट धरान रेफर भएका छन् ।
दुई दिनअगाडि मात्र विदेशबाट आएका दुई व्यक्तिलाई कोरोनाको आशंका गरी कोशीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको हो ।
बिरामीको पहिचान गोप्य राखिएको छ ।
कोशी अस्पतालकी मेसु डा. संगीता मिश्रका अनुसार कोरोनाको लक्षण देखिएका उनीहरूलाई धरान रेफर गरिएको हो ।
उनीहरूको नमूना परीक्षण काठमाडौँ पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रस्ट हुने मेसु डा. मिश्रले जानकारी दिइन् ।
कोशी अस्पतालले कर्मचारी, चिकित्सक र बिरामीका लागि आफै सेनिटाइजर तथा मास्क उत्पादन गरेको उनले बताइन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको केमिकल र ‘डबल लेयर’ को मास्क पनि बनाएको हाे ।
ती सामाग्री अस्पतालका सेवाग्राहीलाइ प्रदान गरिने डाक्टर मिश्रले बताइन् । अस्पतालले परिसरभित्र हात धुनको लागि पानी र साबुनको पनि व्यवस्था गरेको छ ।




















