काठमाडौं, २७ चैत । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ । उनीहरुमध्ये दुई जनाको बुधबार र अर्का एकको मंगलबार मृत्यु भएको हो ।
लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थ्विकपार्क अस्पतालमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केहि दिन घरमै आइसोलेसनमा बसेका उनी १ साताअघि अस्पताल भर्ना भएका थिए । मधुमेहका रोगी समेत रहेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।
पर्वत पैंयू स्थायी घर भएका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका थिए। मंगलबार गुरुङको निधन भएकै नर्थ्विक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ ।
नातीको बिहेका लागि केहि महिनाअघि बेलायत आएका अन्दाजी ७७ वर्षका मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए । उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भए पनि परिवारले विवरण गोप्य राख्न चाहेको उनका आफन्तले बताएका छन् । नेपालबाटै सँगै आएकी मृतककी पत्नी समेत अहिले लण्डनमै छिन् ।
बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ । करिब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।
बुधबार दिउँसो अस्पतालमै मृत्यु भएका उनलाई ह्दयघातको समेत आशंका गरिएको छ । सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए ।
बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ । यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण मृत्यु भएको छ । अन्नपूर्ण पोष्टबाट




















