काठमाडौं । अमेरिकी औषधि उत्पादक कम्पनी मोर्डनाले प्रस्तावित कोरोना भ्याक्सिन परीक्षण अन्तिम चरणमा पुर्‍याएको छ।  सोमबारदेखि ३० हजार स्वयंसेवकमा अन्तिम चरणको परीक्षण थालेको छ।

भ्याक्सिन निर्माणको विश्वव्यापी दौडमा अमेरिका पनि अग्रपंक्तिमा छ। यो भ्याक्सिन निर्माणमा अमेरिकाका दुई संस्था नेसनल इन्सिच्युट अफ हेल्थ र मोर्डना इन्कले संयुक्त रूपमा काम गरेका छन्।

अन्तिम चरणको परीक्षणमा सहभागी स्वयंसेवकलाई औषधिसहितको भ्याक्सिन र औषधि नराखिएको ‘डमी’ भ्याक्सिनको दुई डोज दिइनेछ। त्यसपछि भ्याक्सिनको डोज लिइसकेकालाई अनुसन्धानकर्ताले फलोअप गर्नेछन्।

‘हामी यो परीक्षण सफल हुनेमा सावधानीपूर्वक आशावादी छौं। यो वर्षको अन्त्यसम्ममा तथ्यांकले यसलाई प्रमाणित गर्नेछन्,’ मोर्डना कम्पनीका अध्यक्ष डास्टेफान होगेले भने। कोरोना भ्याक्सिन निर्माणमा चीनका केही कम्पनी र बेलायतका अक्सफोर्ड विश्व विद्यालय पनि अग्रपंक्तिमा छन्।