- मिलन घिमिरे
सुन्दरहरैँचा, ३१ साउन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन नौ सदस्यीय कार्यदल गठन गरिएको छ । काठमाडौंमा शुक्रबार बसेको प्रतिष्ठानको ४४ औँ सिनेट बैठकले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो ।

सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास गरेको छ ।प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृतपूर्ण विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो ।
कार्यदलमा प्रा.डा. उपेन्द्र कोइराला, प्रा.डा. मोहनचन्द्र रेग्मी, प्रा.डा. मधुर भट्टराई, प्रा.डा. बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी छन् । अन्य तीनजना सदस्य थप्ने गरी कार्यदल बनाइएको हो । बैठकले प्रतिष्ठानको नियमावली मस्यौदा समिति समेत गठन गरेको छ । समितिको संयोजकमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई तोकिएको छ ।
समितिले प्रतिष्ठानको शैक्षिक, कर्मचारी, आर्थिक लगायतका नियमवाली बनाउनेछ । बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि दुई अर्ब ९८ करोड ६७ लाखको बजेट समेत पास गरेको छ । बैठकले प्रतिष्ठान हाताभित्र ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपण अस्पताल निर्माण गर्ने निर्णयसमेत गरेको छ ।
स्वास्थ्यमन्त्री ढकालको विशेष प्रस्तावमा मोरङको सुन्दरहरैँचामा छुट्टै सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले पुनरावेदन आयोगको रिक्त पदमा प्रदेश १ का प्रदेश सभा सदस्य राजकुमार ओझा र प्रा.डा. दिव्यसिंह साहलाई सिफारिस गरेको छ ।




















