• मिलन घिमिरे

काडमाण्डौँ, ३२ साउन । सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, सुन्दरहरैचाको सुवर्ण फार्मासिटिकल औषधि कारखाना सञ्चालन तथा सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय भएको छ । काठमाडौँमा शुक्रवार बसेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४ औँ सिनेट बैठकले सो निर्णय गरेको हो ।

IMG_20200816_222239


सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तरण गर्ने र विपिको हाताभित्र रहेको सुवर्ण फार्मासिटिकलको सञ्चालन तथा सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय प्रस्ताव पास गरेको हो । प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृतपूर्ण विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको मन्त्री ढकालले बताएका छन् ।

IMG_20200816_222403


अत्याधुनिक सुविधा सम्पन्न प्रदेश नं १ स्तरीय सरुवा रोग अस्पतालको साथै वीपी विश्वविद्यालय निर्माण, मानव अङ्ग प्रत्यारोपण केन्द्र, रिफ्रल ट्रमा सेन्टर निर्माण गर्ने निर्णय भएको सांसद तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य राजकुमार ओझाले जनाएका हुन।

२०५५ सालमा शेखर कोईरालाद्वार शिलान्यास गरी कार्य सम्पन्नताको चरणमा पुगेको सुवर्ण फार्मासिटिकल औषधि कारखाना सञ्चालनमा हाल सम्म सञ्चालनमा आएको छैन । कारखानाको जग्गा १४ बिगाहा क्षेत्रफल रहेको छ । झृण अवस्थामा रहेको सुवर्णको भवन मरम्मत सम्भार गर्ने र सञ्चालन गर्ने निर्णयसँगै कार्यान्वयन चाडै हुने सांसद ओझाले बताएका छन् ।


उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन ७ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा प्रा.डा. उपेन्द्र कोइराला, प्रा.डा. मोहनचन्द्र रेग्मी, प्रा.डा. मधुर भट्टराई, प्रा.डा. बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी छन् ।

IMG_20200816_222314


बैठकले प्रतिष्ठानको नियमावली मस्यौदा समिति समेत गठन गरेको छ । समितिको संयोजकमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई तोकिएको छ । समितिले प्रतिष्ठानको शैक्षिक, कर्मचारी, आर्थिक लगायतका नियमावली बनाउने छ ।
बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि दुई अर्व ९८ करोड ३० लाख ७७ हजारको बजेट समेत पास गरेको सांसद ओझाले जानकारी दिएका छन् ।

स्वास्थ्यमन्त्री ढकालको विशेष प्रस्तावमा मोरङको सुन्दरहरैँचामा छुट्टै सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो । सुवर्ण फार्मासिटिकल सञ्चालन गर्न विषयमा सांसद ओझा गम्भीर रहेका छन् । आफ्नो क्षेत्र भित्र परेकोले पनि चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउने ओझाको उद्देश्य रहेको छ । उपकुलपति गिरीले पनि विशेष महत्त्व दिएका छन् ।

बैठकले पुनरावेदन आयोगको रिक्त पदमा प्रदेश १ का प्रदेश सभा सदस्य राजकुमार ओझा र प्रा.डा. दिव्यसिंह साहलाई सिफारिस गरेको छ ।