काठमाडौं, ११ भदौं । काठमाडौंबाट निर्वाचित संघीय सांसदहरु सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को रकम कोभिड अस्पताल निर्माणमा लगाउन तयार भएका छन् ।

तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुग्ने सोंचमा आफूहरु रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छिन् ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण ‘भयावह’ बन्दै गएका बेला संक्रमण र रोकथाम तथा नियन्त्रणका प्रयास सम्बन्धमा काठमाडौंबाट निर्वाचित सांसदहरुबीच बुधबार छलफल गरेका छन् ।

छलफलमा सांसद विकास कोषको रकम, विकास आयोजनामा खर्च गर्न सकिने अवस्था नरहेको भन्दै सांसदहरुले कोभिड अस्पताल बनाउनु पर्ने राय राखेका छन् ।

‘सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाऔं भन्ने भएको छ,’ सांसद झाँक्रीले सुनाइन्, ‘हामी १० जना संघीय सांसद छौं । ४ करोडका दरले ४० करोड हुन्छ । प्रदेश सरकारबाट २० करोड र स्थानीय तहबाट ४० करोड आयो भने एक अर्बमा राम्रो कोभिड अस्पताल बनाउन सकिन्छ ।’नयपेजबाट