इम्युनिटी अर्थात् रोगप्रतिरोधक क्षमता भनेको शरीरको टक्सिनसँग लड्ने क्षमता हो। यो टक्सिन ब्याक्टेरिया, भाइरस, फंगस, प्यारासाइट र अन्य हानिकारक पदार्थ हुनसक्छ। हाम्रो इम्युनिटी बलियो छ भने रुघाखोकीबाट सजिलै बचाउँछ अनि हेपाटाइटिस, फोक्सोको संक्रमण, मिर्गौलाको संक्रमणलगायत अनेकौं रोगबाट बचाउँछ। 

हाम्रो वरिपरि कैयौं प्याथोजिनहरू हुन्छन्। हामीले थाहा नपाइकनै खाना र पानीका साथ, अझ सास लिँदा पनि, हानिकारक तत्त्वहरू शरीरले सोसिरहेको हुन्छ। यस्तो हुँदा पनि सबैजना बिरामी पर्छन् भन्ने होइन। इम्युन सिस्टम बलियो हुँदा शरीरले बाहिरी संक्रमणसँग राम्ररी लड्छ। 

हाम्रो रोगप्रतिरोधक क्षमता रक्तपरीक्षणबाट पत्ता लाग्छ तर शरीरले पनि अनेकौं संकेत दिन्छ। तपाईं अरूहरूभन्दा बढी घरिघरि बिरामी हुनुहुन्छ, रुघाखोकी लागिरहन्छ, गला खराब रहन्छ वा छालाको –यासेज छ भने तपाईंको इम्युन सिस्टम कमजोर भएको लक्षण हो। बारम्बार डायरिया, गिजा सुन्निने, मुखमा घाउ पनि खराब इम्युनिटीको लक्षण हो। 

केही मानिस मौसम परिवर्तन हुनेबित्तिकै बिरामी हुन्छन् । शरीरको तापक्रम कम हुँदा यसो हुन्छ। बलियो इम्युन सिस्टमका लागि नर्मल ओरल बडी टेम्परेचर ३६.३ डिग्री सेल्सियसभन्दा कम हुनुहुँदैन। दिनदिनै व्यायाम गर्दा शरीरको तापमान र इम्युनिटी बढाउन सक्नुहुन्छ। तातो उत्पन्न गर्ने मसला लसुन, अदुवा, दालचिनीको सेवन पनि लाभदायक हुन्छ 

शरीरलाई कहिलेकाहीँ ज्वरो आएको राम्रो हो। ज्वरो आएन भने प्रतिरोधक क्षमता कमजोर भएको बुझ्नुपर्छ। ज्वरोमार्फत शरीर रोगहरूसँग लड्छ। हामीहरूमध्ये धेरै ज्वरो आउनेबित्तिकै औषधि खाइहाल्छौं जसले गर्दा ज्वरोले सकारात्मक तरिकाले काम गर्न सक्दैन। तपाईंलाई संक्रमणपछि पनि ज्वरो आएन भने कमजोर इम्युनिटीको लक्षण हो। 

भिटामिन डीले इम्युनिटी बढाउँछ र धेरै मानिसमा यसको कमी हुन्छ। तपाईंको ब्लड रिपोर्टमा भिटामिनको कमी छ भने त्यसको स्तरलाई सही गर्ने कोशिश गर्नुपर्छ। त्यसबाहेक लगातार थकान, आलस्य, लामो समयसम्म घाउ नपुरिनु, निद्रा नआउनु, डिप्रेसन र आँखामुनि कालो घेरा पनि कमजोर प्रतिरोधक क्षमताको लक्षण हो। -एजेन्सी