विराटचोक ,२५ भाद्र । विज्ञान शिक्षक समाज नेपाल (STAN) प्रदेश नं १ समितिले प्रदेश नं १ मा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । " स्वच्छ र गुणस्तरीय जीवनका लागि विज्ञान " भन्ने मूलनाराका साथ मनाइने आठौं रास्ट्रीय विज्ञान दिवसको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत भदौ २४ गते विज्ञान शिक्षक समाज नेपाल (STAN) प्रदेश नं १ समितिद्वारा प्रदेश नं १ का मा.वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

बुधबार सम्म्पन्न भएको सो प्रतियोगितामा प्रदेश नम्बर एक का ७० ओटा माध्यामिक बिधालायाहरुबाट प्रतियोगी सहभागी भएका थिए भने प्रारम्भिक छनौट भएका ८ वटा विद्यालय बिच फाइनल चरणमा प्रतियोगिता संचालन गरिएको थियो । उक्त प्रतियोगिता भर्चुअल विधिबाट करिब दुई घण्टा चलेको थियो भने क्विज मास्टरको रुपमा प्रदेश सहसंयोजक विश्वराज गौतमले मोडुलेट गर्नुभएको थियो । सो प्रतियोगितामा बिकेभिएम विराटनगर, देवी मा.वि. विर्तामोड, स्कोलर्स होम विराटचौक र मोडर्न एरा विराटनगरले क्रमश: प्रथम, द्धितिय, तृतीय र चौथौ स्थान हासिल गर्न सफल भएका थिए ।

स्टान प्रदेश न.१ सूचना बिभाग प्रमुख सचिन पौडेलद्धारा सञ्चालित सो कार्यक्रमको समापन समारोहमा लिलाकान्त बन्जाराले प्रदेशको तर्फबाट सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख आकर्षणको रुपमा रहनुभएका ख्यातिप्राप्त गुरुहरु जुलोजीका प्राध्यापक डा. रामबहादुर थापा र फिजिक्सका प्राध्यापक डा. देवेन्द्र अधिकारी ज्यूले आफ्ना अनुभव सुनाउदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । विज्ञानको विकास बिना राष्ट्र विकास असम्भव छ भन्ने कुरा नीति निर्माण तहका व्यक्तिलाई बुझाउन सामुहिक प्रयासको आवश्यकता रहेको कुरामा उहाहरुले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि , नेपाल सरकार, आठौं राष्ट्रिय विज्ञान दिवस २०७७ मुल समारोह समितिका संयोजक एबं पूर्व विज्ञान तथा प्रबिधि मन्त्री इन्जिनियर गणेश शाहले सम्पूर्ण विज्ञान शिक्षकलाई उत्साह र प्रतियोगिलाई शुभकामना दिदै विज्ञान शिक्षा र विज्ञान दिवसको औचित्य प्रकाश पार्नुभएको थियो । स्टान केन्द्रको तर्फबाट अध्यक्ष खिलकुमार प्रधान तथा सचिव मनोज आचार्यले शुभकामना दिनुभएको सो कार्यक्रमको सभापतित्व प्रदेश नम्बर १ का संयोजक अभय लिम्बुले गर्नुभएको थियो ।

कार्यक्रममा स्टान केन्द्रीय कोषाध्यक्ष देबेन्द्र कर्ण , स्टान केन्द्रीय सूचना अधिकारी डम्वरुप्रसाद पोखरेल तथा अन्य पदाधिकारी र अन्य प्रदेशका संयोजक तथा सहसंयोजकको समेत उपस्थिति रहेको प्रदेश १ का संयोजक लिम्बुले जानकारी दिनुभयो ।