१३ यात्रु बोकेर उडेको विमान सम्पर्क विहिन भएको छ चालकदलका सदस्यसहित १३ यात्रु लिएर भारतीय उत्तरपूर्वी राज्य आसामको जोरहातबाट सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको यहाँको रक्षा मन्त्रालयले बताएको छ।

रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२:२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ।“विमानले पछिल्लो पटक दिउँसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको तर त्यसपछि सम्पर्कविहीन रहेको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विमानमा चालकदलका आठ सदस्य र पाँच यात्रु रहेको मन्त्रालयको विज्ञप्तिमा जानकारी गराइएको छ।
सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्नेल पी खोङसाईले सम्पर्कविहीन विमानलाई पत्ता लगाउन सम्भावित सवै उपायको अवलम्वन गरी खोजी जारी रहेको बताए। विमान हराएको घण्टौँ वित्दासमेत विमान, चालक दलका सदस्य र यात्रुबारे कुनै सूचना नपाएपछि विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ। विमान दुर्घटनाग्रस्त भएको हो वा अन्य कुनै समस्याका कारण सम्पर्कमा आउन नसकेको भन्नेबारे प्रष्ट जानकारी आइसकेको छैन।