काठमाडौं । काठमाडौंको सडकमा जहाज गुड्यो भन्दा तपाईलाई आश्चर्य लाग्ला । तर, शनिवार साँझ काठमाडौंको सडकमा जहाज गुडिरहेको छ ।
कोरोनाको महामारीले यातायातका साधन त्यसै त कम नै चलेको छ, आज शनिवारको दिन झनै कम सवारी साधन गुडेको छ । साँझ परेको बेला काठमाडौंको एयरपोर्टबाट एउटा जहाज सडकै सडक मुख्य सडकमा निस्किएको छ ।
काठमाडौंको एयरपोर्टबाट निस्किएको जहाज अहिले तिनकुने आइपुगेको छ । गाडी गुड्ने सडकमा जहाज गुडेपछि प्रत्यक्षदर्शीहरु आश्चर्यमा परेका छन् । ‘यस्तो अहिलेसम्म देखिएको थिएन, के भो आज ?’ स्थानीय सुभाष श्रेष्ठले नागरिकखबरलाई फोनमा भने, ‘हामी हेरिरहेका छौं, जहाज तिनकुनेतिरै आइरहेको छ ।’
गाडी कम गुडेको मौका छोपेर एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार पुर्याउनका लागि जहाज हिडाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नारायणहिटी दरवारको संग्रहालयमा राख्नका लागि जहाज सडकमा हिडाएको प्रहरीको भनाइ छ ।
विगतमा भीभीआइपी चढ्ने गरेको जहाज सडकबाट गुडाएर नारायणहिटी दरवार लैजाँदै गरेको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
सो जहाज राजा वीरेन्द्रले २०३१ सालताका राज्याभिषेकका बेलामा प्रयोग गरेका थिए । तत्कालीन राजाहरुले प्रयोग गर्दै आएको सो जहाज ग्राउण्डेड अवस्थामा विमानस्थलमै थियो ।
सरकारको निर्णयअनुसार, जहाजलाई नारायणहिटी संग्रहालयको प्रदर्शनीमा राख्नका लागि लगिएको नारायणहिटी दरवार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।



















