पथरी,३असोज। मोरङको पथरी शनिश्चरे नगरपालिका कला साहित्य प्रबर्धन समिति, लर्ड बुद्ध साकोस र वडा नं. २ ले संयुक्त रूपमा पारूहाङ निवासी स्थानीय गायक अमितकुमार राईं उर्फ जन्तरे मामालाई स्थानीय गौरव बढाएकोमा आज निज निवासमा आयोजित एउटा कार्यक्रममार्फत स्रष्टा–सम्मान गरेको छ ।

स्वरसम्राट नारायण गोपालको स्वरमा गुन्गुनाउने मात्र होइन, दुरूस्त गीत गाउन सक्ने जन्तरे मामा पछिल्लो बेलामा एकाएक भाइरल भएका छन् । यस्ता सम्राट जन्तरे मामालाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईं, कला साहित्य प्रबर्धन समितिका अध्यक्ष बीरध्वज सिवा, सचिव रोहित पराई, साकोसका व्यवस्थापक गणेश बछाना राईंले रूपैयाँ ५ हजार सहित साकोसको सेयर सदस्यको प्रमाणसहित सम्मान प्रदान गरेका थिए ।
वडा कार्यालयको तर्फबाट स्रष्टा मामालाई वडाध्यक्ष यामप्रसाद गुरागाईं र सदस्य अरूणा राईले रू ५ हजार सहयोग र सम्मानस्वरूप उपलब्ध गराए । कार्यक्रममार्फत स्रष्टा मामाको निवास निर्माणका लागि स्थानीय अर्का स्रष्टा धनराज राई अमीरको संयोजकत्वमा एउटा आर्थिक सहयोग समिति गठन गरेको छ ।
जसमा क्रमशः सचिव सन्तोष राईं, कोषाध्यक्ष कुमार राईं, सदस्यहरूमा देव गुरूङ, किशोर श्रेष्ठ, जमुना राईं, ईश्वर दुलाल, गौरव दर्पण र करण धिताल रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राईंले जन्तरे मामाको घर बनाउन गठित सहयोग समितिलाई सहयोग गर्ने, तत्काल जस्तापाता उपलब्ध गराउने बचन दिए भने स्रष्टा अमीर राईंले स्रष्टाले नै स्रष्टाको मर्म बुझ्छ भन्दै एउटा गितार उपलब्ध गराएका थिए ।
नारायण गोपालको आँखा छोपी नरोऊ भनि.... गीत गाएर स्रष्टा मामाले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए । कला साहित्य प्रबर्धन समितिले मामाको जीवनीमा आधारित एउटा भिडियो बनाइदिने कबोल गरेको समितिका उपाध्यक्ष अमीर राईंले बताए ।




















