___________ तारा पराजुली

 

हुरीले घर हल्लाएपछि
मैले बलियो खाँबो गाड्न सिकेको हुँ।

धुरीमा चोया थप्न
छानोमा छोरखर हाल्न
त्यसैपछि जानेको नै हुँ।

घर बलियो भएपछि
मन पनि बलियो हुनेरहेछ।

मलाई ढुङ्गामाथि पनि हरियो देखेर
एकफेर बजारमा खुब हल्ला चलेछ
जरा काँडा फूल पातसम्म
घन्टौँ पौडिएछ
एउटा कमसल लेन्स र रिमोट बिनाको ड्रोन
बस्ती माथीमाथि

मलाई गर्वै थियो
तिनीहरूसंग जसले यति धेरै पछ्याइरहे
सबैभन्दा धेरै समय मेरै लागि व्यतित गरे
सबभन्दा धेरै पटक मेरै नाम पुकारा गरे
मलाई उनीहरु दुश्मन जस्तो नै लाग्दैन अचेल।

तपाईं पत्याउनुहुन्छ?
एकदिन उनीहरुले मलाई
मिनी सेमिनारमा बोलाए
एकैछिन अनपेक्षित प्रेम आतिथ्य दिए
उनीहरु बोलिरहे बोलिरहे
मलाई पनि बोल्न लगाए।

म अविचलित बोलिरहें
जब उनीहरुले सत्यको आवाज रोक्न सकेनन्
छिनमै नजिकैको भूइँ खोस्रिएर
मलाई माटोमा पुर्न खोजे
पटकपटक माटैले छोप्न खोजे।
अन्तिम पटक मैले उनीहरुलाई भनिदिएं -
म बीउ हुँ
माटोमा झन छिटो उम्रन्छु र
अझै सहस्र फैलिन्छु।