दुवै किड्नी फेल भएर पीडा भोगिरहेकी इलामकी अञ्‍जली तामाङलाई उपचारमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन्‌।​​ ६ वर्षदेखि प्यारालाइसिस भएर आमा थलिइरहँदा छोरी अञ्‍जलीको पनि किड्नी फेल भएको हो।

अञ्‍जली सूर्योदय नगरपालिका-१० की हुन्‌। चिकित्सकहरूले एक वर्षअघि नै उनको किड्नीले काम गर्न छाडेको बताएका थिए। करफोक विद्यालयमा कक्षा २ मा अध्ययनरत उनी एक वर्षदेखि पढ्न जान सकेकी छैनन्‌। बुबा टीकाराम तामाङ दैनिक ज्यालादारी गर्छन्‌।​

'घर र जमिन छैन, छोरी कसरी बचाउने भन्ने चिन्ता छ, सानै छे, उसले पनि जिन्दगीको सुखदु:ख भोग्न पाउनुपर्ने हो, तर उपचार नपाउँदा गरिबीले नै उसको जीवन निखार्लाजस्तो भयो,' उनले भने, 'फूलजस्ती मेरी छोरीलाई बचाउने/नबचाउने कुरा अब दाताहरूकै हातमा छ, मैले सकेसम्म कोशिश गरेँ, थप उपचार गराउन मसँग केही छैन।'

टीकारामकी श्रीमती सुमित्रा तामाङलाई घरभित्र-बाहिर गर्न पनि समस्या छ। छोरीको पीडाले उनलाई झनै कमजोर बनाउँदैछ। जसरी पनि छोरी बचाउनका लागि टीकारामले सहयोग याचना गर्दै आएका छन्। सहयोग संकलन हुँदै अञ्जलीको लागि आर्थिक सहयोग जुट्न थालेको छ।

सूर्योदय नगरपालिकाका स्थानीय युवा समाजसेवी कुनाल राईको अगुवाइमा उपचारका लागि आर्थिक सहयोग संकलन शुरू भएको हो। तामाङ परिवारले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता खोलेका छन्। तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ र नबिल बैंक र पुल्चोक (ललितपुर) को खाता नम्बर १९१००१७५११३९५मा चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आग्रह समेत गरेका छन्।