बिराटचोक,१६ असोज
खोला खनेर जीविको चलाउँदै आएको अवस्थामा खोला बन्द भएर भोकभोकै बस्नुपरेको भन्दै मेयरसँग गुनासो पोख्न पुगेका मजदुरहरुको समूहलाई मोरङको सुन्दहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले प्रहरी परिचालन गरेर लखेट्ने प्रयास गरेका छन् । महिनौंदेखि भएको लकडाउनका कारण साँझ विहानको छाक टार्ननै समस्या भएको बेला नगरपालिकाले खोला ठेक्का नलगाएका कारण झन समस्या थपिएको भन्दै नगर प्रमुखलाई भेटेर गुनासो गर्न नगरपालिका कार्यालयको प्रांगणमा पुगेका मजदुरहरुलाई नगर प्रमुख शिवप्रसाद ढकालले भेट दिन इन्कार गरि प्रहरी पठाएर हटाउने प्रयास गरेका थिए ।

आफ्ना जनप्रतिनिधि सामु गुनासो लिएर पुगेका मजदुरहरुलाई भेट गरेर समस्या सम्बोधन गर्नुको साटो मेयर ढकालले आफु बाहिर रहेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी सलकपुरबाट टोली झिकाएर धपाउने प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल स्वयम् नगरपालिका पुगेर गरीब मजदुरहरुलाई यहाँबाट हटिहाल्न भन्दै हप्काएका थिए ।
मेयरलाई भेट्न भनेर तातोघाममा कुरिरहेका मजदुरहरुमाथि प्रहरी निरीक्षकको ब्यावहार प्रति लक्षित गर्दै गरीब दुखीको हित गर्ने मेयर साह्ब भनेर भनेर आएको त उल्टै पुलिस लगाएर धपाउन खोज्ने? तर त्यहि गरीब मजदुर न्याय माग्न जादा प्रहरीले हामीलाई दुरब्यावहार गर्ने भन्दै एकजना मजदुरले दुखेसो पोखे । ठूलो संख्यामा पुगेका मजदुरहरुले प्रहरी निरीक्षक ढकालको कुरा नसुनी अझ नारावाजी गर्न थालेपछि सशस्त्र प्रहरी सलकपुरको टोली बोलाइएको थियो । सशस्त्र प्रहरीको टोली बोलाएर तम्तयार राख्दा समेत मजदुरहरु पछि नहटेपछि बाध्य भएर मेयर ढकाल मजदुरहरु पुगेको २ घण्टापछि नगरपालिका पुगेका थिए ।
ठूलो संख्यामा प्रहरी परिचालन गर्दा समेत मजदुरहरुले नगरपालिका घेराउ गर्न नछाडेपछि बाध्य भएर नगरपालिका पुगेका मेयर ढकालले मजदुरहरुलाई सम्झाउने प्रयास गरेका थिए । तातो घाममा बालबच्चासहित घण्टौंदेखि आफुहरुलाई कुराएको र प्रहरी परिचालन गरेको भन्दै मजदुरहरले मेयर ढकाल पुग्नासाथ उनी विरुद्ध नारावाजी गरेका थिए । उनीहरुले मेयर ढकालले खोलाका माफियाहरुसँग मिलेर कमिसन खानका लागि ठेक्का नखुलाएर आफुहरुको विचल्ली बनाएको आरोप समेत लगाएका छन् । मजदुरहरुले आफुहरुले साँझ विहानको छाक टार्न बालुवा चालेर ल्याउँदा प्रहरी परिचालन गर्ने तर खोलाका माफियाहरुले भने जेसीवी प्रयोग गरेर बालुवा निकाल्दा समेत वेवास्ता गरेको गुनासो पनि गरेका छन् । मजदुरहरुले तत्काल खोला खुलाउनु पर्ने, प्रहरीले नियन्त्रणमा लिएका ट्रयाक्टर छाड्नु पर्ने लगायतका माग राखेपछि मेयर ढकालले बालुवा गीटि चालेर गुजारा चालउने माजदुरलाई मर्न नदिने भन्दै आइतबारबाट ट्रयाक्टर लगाएर बालुवा गीटि निकाल्न दिइने बताएका थिए । मेयर आश्वासनपछि मजदुरहरुले फर्किएका थिए ।

गत असोज १ गतेदेखि नै खोलाको ठेक्का लगाएर काम सुरु हुनुपर्नेमा आधा असोज वितिसक्दा समेत नगरपालिकाले ठेक्का लगाउन ढिला सुस्ती गरेपछि सुन्दरहरैंचाको गछिया र बूढी खोलामा बालुवा चालेर जीवीको चलाउँदै आएका मजदुरुरुलाई साँझ विहानको छाक टार्ननै समस्या भएको छ । राष्ट्रिय युवा संघ नेपाल, सुन्दरहरैंचा परिवर्तन राष्ट्रिय सञ्जाल सुन्दरहरैंचा र सुन्दरहरैंचा उद्योग वाणिज्य संघ लगायका संघ संस्थाले राहत वितरण गरेपनि ठूलो संख्यामा खोलामा आश्रीत मजदुरहरु रहेकाले त्यो पर्याप्त हुन सकेको छैन । यता नगरपालिकाले भने भर्खरै खोलाको ठेक्का खुलाएको जनाएको छ । तर ठेक्का प्रकृया पुरा भएर काम सुरु हुन अझै १ महिनासम्म लाग्ने देखिएको छ ।



















