===कविता " माधुरी "
गर्दैछे कल्पना "तृष्णा" साँझ सम्म म बस्तछु
लिएर काखमा बस्ने अभिलाषा पुर्याउँछु
खोलिदिन्छु तुना फेरि सम्झना छ कि बिर्सियो
आमाको काखले गर्दा म बाट कि त इर्षियो ?
१७१
चिन्दो हो सम्झिँदो होला आउला झम्टिंदै कि त
थपक्क काखमा आई बस्ला कि खूब आश छ
उघारी स्तनमा आँखा न लाउला कसो गरि
हतारिँदै खुसी साथ लाउला मुख त्यै घरी
१७२
मौका अवश्य मिल्ने छ छोडेर "माधुरी" पनि
भित्र बाहिर जानेछिन् त्यै बेला लिन्छु मै पनि
पक्का चिन्नेछ बोलीले आऊ बाबु ! म भन्दछु
दुबै हात पसारेर अंँगालो दिन खोज्दछु
१७३
"मनुष्य"खेल्छ आफैंमा मुस्कुराई घरीघरी
थोत्रा बट्टा निकालेर फालिदिन्छ खराखरी
बटुल्दै ल्याउँदै छर्दै यसैमा छ भुलेको ऊ
हात्ती घोडा भनी नाच्दै सधैं रमेर खेल्छ ऊ
१७४
एकोहोरो छ तृष्णाको "मनुष्य"प्रति मोह यो
आखिरी किन यस्तो भो आफैं जान्दिन गुह्य यो
छोरा सुमनको जस्तै याद बेसी छ तिर्सना
न आफ्नो खुन या वंश नाता वा नत सिर्जना
१७५
चाँगुनारायण ४ समावेशी हाइट भक्तपुर
९ मार्ग २०७७




















