काठमाडौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले टिस्यु पेपरदेखि अक्सोमिटरसम्म वितरण गर्न योजना अघि सारेको छ । मृत्यु हुने संक्रमितहरुमध्ये होम आइसोलेसनमा बसेका बढी भएपछि सरकारले किट वितरण गर्न लागेको हो ।

मन्त्रालयले विकास साझेदारहरुको सहकार्यमा केही पालिकामा हेल्थ आइसोलेसन किट वितरण गरेकामा नतिजा राम्रो पाइएको भन्दै उच्च जोखिम समूहलाई सबै पालिकामार्फत वितरण गर्ने नीति लिएको हो ।स्वास्थ्य मन्त्रालयले जारी गरेको होम आइसोलेसनमा बस्ने संक्रमितलाई आइसोलेसन किट उपलब्ध गराउनेसम्बन्धी मार्गनिर्देशनअनुसार संक्रमितलाई १४ दिनलाई पुग्ने स्वास्थ्य सामग्री प्रदान गर्न लागेको हो ।

निर्देशिकाअनुसार होम आइसोलेसनमा बसेकाले मेडिकल मास्क ८४ वटा पाउनेछन् । संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा दैनिक तीनवटाका दरले ४२ वटा र संक्रमित हेरचाह गर्ने व्यक्तिलाई ४२ वटा मास्क दिन लागिएको हो ।

त्यस्तै स्यानिटाइजर २ सय ५० एमएलको एक बोतल, थर्मोमिटर र ब्याट्री एक सेट, पल्स अक्सोमिटर र ब्याट्री पनि दिन लागिएको छ ।

थर्मोमिटर र अक्सोमिटर भने संक्रमित निको भैसकेपछि सफा गरेर स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई फिर्ता दिनुपर्नेछ ।

प्यासिटामोल ४२ चक्की, टिस्यू पेपर एक बट्टा, पन्जा एक प्याकेटसमेत पाउनेछन् ।kantipur