एजेन्सी । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिने भएकाे छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप आजदेखि अमेरिकी नागरिकलाई लगाउन थालिने अमेरिकी सञ्चारमाध्यमले जनाएकाे छ । अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएपछि अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।
खोपको पहिलो ३० लाख डोज सबै राज्यमा चाँडाे भन्दा चाँडाे पुर्याइने बताइएकाे छ । काेराेना विरूद्धकाे खाेपकाे पहिलाे प्राथमिकतामा स्वास्थ्यकर्मी र जेष्ठ नागरिक परेका छन् । त्यसपछि अन्य सर्वसाधारण नागरिकलाई दिइने छ ।
पहिलो दिन आज १ सय ४५ ठाउँमा खोप प्राप्त हुनेछ । मंगलबार ४ सय २५ ठाउँमा र बुधबार ६६ ठाउँमा खाेप प्राप्त हुने अधिकारीहरुले बताएका छन् । पहिलो चरणको खाेप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण थालिने अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
काेराेना संक्रमणका कारण अमेरिका सबै भन्दा बढी प्रभावित भएकाे छ । केही समय कम भएपनि अमेरिकामा मृतककाे संख्या फेरि बढ्न थालेकाे छ । मृतक र संक्रमितको संख्या निक्कै बढेपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । बेलायत र क्यानडाले पनि फाइजर खाेपलाई स्वीकृति दिइसकेका छन् । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायत देशले प्रयाेग गर्ने बताएका हुन् ।




















