चाया पोतोले हैरान बनाएको छ? हैरान बनाए पनि तनाव भने लिनु हुन्न।

तनावले त झन् चाया पोतोको समस्या अझ बढ्छ। यो खबर आजको शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्काले लेखेका छन्।

छालाको समस्या लिएर स्वास्थ्य जाँच गर्न पुग्नेमध्ये ९० प्रतिशत महिला र १० प्रतिशत पुरुष हुन्छन्।

चायापातो विशेषगरी अनुहारमा आउँछ। अनुहारमा आउने चायापोतो नाक, गाला, आँखीभौँमाथि, निधार जस्ता ठाउँमा आउँछ। जसले अनुहार नै कुरुप बनाइदिन्छ।

छालामा कालो रंग बनाउने कोषिका हुन्छन्। जसलाई मेलानोसाइट्स भनिन्छ। यी कोषिका बढी सक्रिय हुँदा आउने परिवर्तन नै चायापातो हो।

मेलानोसाइटको घनत्व शरीरको अन्य भागमा भन्दा अनुहारमा बढी हुने भएकाले अनुहारमा बढी यसको असर पर्ने सभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा.रवीन्द्र शर्माले बताए।

६ महिनादेखि एक वर्षसम्म सन ब्लक क्रिम प्रयोग गर्दा पनि चाया पोतो नहटे थप उपचार गर्नुपर्ने शर्मा बताउँछन्।

केमिकल पिल्सले छालाको बोक्रा निकालेर सफा गरिन्छ। बोक्रा गएपछि सफा किसिमको भित्री छाला आउन मद्दत गर्छ। र, चायापोतो हट्छ।