पथरी शनिश्चरे 
मोरङको पथरी शनिश्चरेका विद्यालयहरुमा साप्ताहिक रुपमा आइरन चक्की र फोलिक एसिड खुवाउने कार्यक्रम निरन्तरता सम्बन्धी शिक्षक शिक्षिकाका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक र संस्थागत विद्यालयका शिक्षक शिक्षिकालाई गरी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

आजको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राइले सरकारले निःशुल्क रुपमा किशोरीहरुका लागि आइरन तथा फोलिक एसिड उपलब्ध गराउने र सम्बन्धित शिक्षक शिक्षिकाहरुमार्फत विद्यालयमा खुवाउने कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । नगरको स्वास्थ्य शाखाका जगत मगर र एकराज खत्रीले अभिमुखिकरणको सहजिकरण गर्दै प्रत्येक हप्ता एउटाका दरले १३ हप्ता लगातार खुवाउने र अर्काे १३ हप्ता नखुवाउने गरिको चक्रका आधार लगातार रुपमा आइरन र फोलिक एसिडको कार्यक्रम रहेको जानकारी गराउनु भयो ।

१० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई रगतको मात्रा बढाउने सहितका स्वास्थ्य सुरक्षाका लागि आवश्यक आइरन र फोलिक एसिड खुवाउने यो दोस्रो वर्षको कार्यक्रम रहेको छ । अभिमुखिकरण पछि लक्षित उमेर समूहका छात्राको संख्याका आधारमा विद्यालयहरुलाई आइरन र फोलिक एसिड प्रदान समेत गरिएको छ । विद्यालय बाहिर रहेका सो समूहका किशोरीहरुका लागि महिला स्वास्थ्य स्वयमसेविकाद्वारा आइरन र फोलिक एसिड खुवाइने छ ।