सुनसरीको धरान क्षेत्रमा डेंगु महामारीका रूपमा फैलिएको छ।
हालसम्म २ सय ८१ जनामा डेंगु संक्रमण देखिएको छ। संक्रमण फैलिएको वडा नम्बर ८ र १५ लाई धरान उपमहानगरपालिकाले स्वास्थ्य संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ।
डेंगुका अण्डा, लार्भा र प्यूपा नस्ट गर्न नगरपालिकाले स्वास्थ्यकर्मी खटाएको छ। स्थानीयबासी पनि स्वास्थ्यकर्मीसँगै डेंगु नियन्त्रण गर्ने अभियानमा सक्रिय भएका छन्। तर, करिब दुई साताअघि देखि देखा परेको डेंगु नियन्त्रण हुनुको साटो झन् फैलिँदै जाँदा स्थानीय त्रसित बनेका छन्।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशन विकास साहले रगत परीक्षण गर्न गएका ८ सय ५२ जनामध्ये २ सय ८१ जनामा डेंगु भाइसर देखिएको जानकारी दिए।
प्रतिष्ठानले डेंगुका बिमारीलाई निशुल्क उपचार व्यवस्था मिलाएको अस्पताल निर्देशक डा. गौरीशंकर साहले बताए।
‘डेंगुको महामारी नियन्त्रण गर्न चिकित्सकसहितको ‘र्यापिड रेस्पोन्सट’ टोली, प्रतिष्ठानमा एमबिबिएस पास भएर ‘इन्टर्न’ गरिरहेका डाक्टर र चिकित्साशास्त्रका विद्यार्थी परिचालन गरेका छौँ,’ साहले भने।
डेंगु महामारी नियन्त्रणका लागि सबै निकाय परिचालन गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। प्रदेश १ संसदका सभामुख प्रदिपकुमार भण्डारी र मन्त्री घिमिरे प्रभावित क्षेत्रमा गएर स्थलगत निरीक्षण गरेका छन्।
यसैबीच धरानमा डेंगु सार्ने ‘एडिस एल्बो पिकस’ जातको लामखुट्टे फेला परेको छ।
विजयपुरको वडा समिति कार्यालय नजिकैको एक होटलले जम्मा गरेको पानीमा उक्त जातको लामुखट्टेका अन्डा, लार्भा र प्युपा फेला परेको स्वास्थ्यकर्मीले बताएका छन्।
यसअघि चिकित्सकले ‘एसिड एजिप्टाई’ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेंगु रोग सारेको बताउँदै आएका थिए।
हेटौँडाबाट धरान पुगेका कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्राविधिक दीपककुमार साहले महामारी नियन्त्रणका लागि डेंगुको अन्डा, लार्भा र प्युपा नष्ट गर्ने कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने देखिएको बताए।
उनका अनुसार एजिप्टाई बढी सक्रिय हुने र एकसाथ चारपाँच जना मानिसलाई टोक्न सक्ने भए पनि पिकस भने केही लोसो हुने भएकाले कमलाई मात्रै टोक्न भ्याउँछ।




















