विराटनगर,११ बैसाख । प्रदेश १ मा कोरोना संक्रमणका कारण एकै दिन शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना विराटनगरका रहेका छन् । शनिबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–६ का ४८ वर्षीय पुरुष र महानगरपालिका–१७ की ७० वर्षीय महिला रहेको कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतले जानकारी दिए ।

मृतक महिला शुक्रबार कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएको भगतले बताए । श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी महिलाको अवस्था गम्भीर थियो ।

विराटनगर–६ ठेगाना उल्लेख गरेका ४८ वर्षीय व्यापारी पुरुषको शनिबार बिहान मृत्यु भएको हो । इनरुवामा बस्दै आएका उनलाई उपचारका लागि वैशाख ३ गते भर्ना गरिएको थियो ।