पथरी शनिश्चरे, २३ बैशाख । पथरी शनिश्चरेमा कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्डको पूर्ण पालनाका लागि नगरवासीमा अनुरोध गर्दै नगरपालिकाले तत्काल आइसोलेसन तयार गर्ने भएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको वैठकले नगर अस्पतालको नवनिर्मित भवनमा कोरोनाका विरामीका लागि कम्तिमा १५ बेडको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको छ । समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको वैठकले कोरोना संक्रमणलाई रोक्न पूर्ण स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गर्दै पीसीआर परीक्षणका लागि आवश्यक सामग्री समेत तत्काल व्यवस्थापन गर्न नगरपालिकालाई जानकारी गराउने पनि निर्णय गरेको छ ।

180656780_321977805938756_5845027294255890420_n

नगरमा भएका ३ वटा एम्बुलेन्समध्ये २ वटालाई कोरोना संक्रमितको उपचारमा ओसार पसार गर्न प्रयोग गरिने पनि निर्णय भएको छ । वैठकले, वडा समिति र पथरी उद्योग वाणिज्य संघको समेत पहलमा बढी भिडभाड हुने पथरी बजारमा रहेका सब्जी पसललाई कृषि बजार, यलम्बर चोक, मन्दिरलाइन, शिखरचोक, रत्नचोक, बुद्धचोक सहितका स्थानमा विकेन्द्रित गरी भिडभाड हुन नदिने समेत निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर पसलहरु वेलुका ७ बजे र होटलहरु ८ बजेसम्ममात्र सञ्चालन गर्नुपर्ने समितिले उल्लेख गरेको छ ।

संघीय सरकारको निर्णय बमोजिम सिनेमा हल, पार्टी प्यालेस, सभा सम्मेलन, साप्ताहिक हाट बजार, डान्सबार, स्वीमिङ पुल, हेल्थ क्लब, रंगशालामा हुने खेल गतिविधि एवम् २५ जना भन्दा बढी भेला हुनेखाले कार्यक्रम वैशाख १४ बाट नै सञ्चालन नगर्न समितिले निर्णय गरेको थियो । त्यसमा व्यूटिपार्लर, सैलुन समेत वन्द गर्ने आज थप निर्णय भएको छ ।
यस नगर क्षेत्रमा स्थायी बसोबास भई बैदेशिक रोजगारीबाट घर फर्कनेले अनिवार्य रुपमा कम्तिमा १० दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने समेत सूचित गरिएको छ । संक्रमणबाट बच्न भीडभाड नगरी कम्तिमा डेढ मिटरको दूरी कायम गराएर मास्क लगाउन लगाउने तथा साबुनपानी र सेनिटाइजरले हात सफा गरिरहने सहितका सरकारले तय गरेको स्वास्थ्य मापदण्ड सेवाग्राहीलाई पुरा गराउन व्यावसायीलाई सूचित गर्ने निर्णय गरिएको छ ।

त्यसप्रकारको स्वास्थ्य मापदण्ड पुरा नगरेमा सम्बन्धित पक्षलाई कानूनी कारवाही समेत गरिने जनाइएको छ । नगरमा दोस्रो पटकको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट १२ जना संक्रमित भएका छन् ।