काठमाडौं, २६ जेठ । नेपालले हवाइ दुर्घटनाका धेरै दुःख र पीडाहरु भोगिसकेको छ । त्यो यान्त्रिक कारणले होस् या मानवीय त्रुटिले । कतिपय मानवीय त्रुटीका कारण पनि ठूलो धनजनको क्षति व्यहोर्नु पर्छ ।
आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट दिल्लीका लागि उडान भर्न लागेको जहाजमा पनि यस्तै भुल देखिएको खुलासा भएको छ । आइतबार बिहान ८ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५, एयरबस ३२०–२०० जहाज काठमाडौंबाट भारतको नयाँ दिल्ली जाने तालिका थियो । जहाज सबै तयारी पूरा गरी टयाक्सी वेमा पुग्यो । तर अचानाक रोकियो ।
ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्रण कक्षमा खबर गरियो–आइआरएस (इन्टर्नल रिफ्रेन्स सिस्टम) अन नभएकाले केही समय लाग्ने । यो सिस्टम चालु नगरी जहाज उडानु जोखिमपूर्ण मानिन्छ । पाइलटहरुका अनुसार पार्किङबाट जाँदाखेरी नै उक्त सिस्टम पूर्णरुपमा चालु भइसकेको हुनुपर्छ ।
तर नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट उद्धव घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उडान सुपरीवेक्षक डिआर निरौला सहभागी उक्त जहाज उडानको समयमा गम्भिर लापर्बाही गरेको पाइएको स्रोतले जानकारी दिएको छ ।
स्रोत भन्छ, ‘जहाज उडानु भन्दा अघि नै प्राविधिक र प्रणालीको परीक्षण हुनु पर्ने हो । तर त्यो आज भएन, हामी नै छक्क पर्यौ ।’ यसअघि नेपाल एयरलाइन्सकै वाइ १२ जहाजकाट क्याप्टेन रहेका घिमिरेको एयरबस ३२० जहाजको पहिलो उडान थियो । त्यसैले उनलाई प्रशिक्षक पाइलट र प्राधिकरणका सुपरीवेक्षक पनि राखिएको थियो ।




















