दाङ,१४ जेठ । एमाले ओली समूहका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतले दलबलसहित गएर बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि कुटपिट गरेका छन् ।

बिरामीको मृत्यु भएको भन्दै रावत समूहले चिकित्सक र नर्समाथि कुटपिट गरेको अस्पताल विकास समितिले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका– ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको आईसीयूमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।

कुटपिटबाट बिरामीको उपचारमा खटिएका डा. दीपक गुप्ता, डा. चन्द्रप्रकाश साहु, डा. समा अनसारी तथा स्टाफ नर्सहरु बन्दना श्रेष्ठ, आश्विन गुरुङ र सदीक्षा गैरे घाइते भएका छन् । अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले आइसीयूमै चिकित्सक र नर्समाथि अमानवीय तरिकाले कुटपिट भएको बताए । उनीहरुले डाक्टर र नर्सको घाँटी अँठ्याउनेदेखि लात्ती, पंखा र टेबलले प्रचार गरेका थिए ।

चिकित्सक र नर्स ज्यान बचाउन अस्पतालको छत र माथिल्लो तलाबाट हामफालेका थिए । घटनापछि ज्यानको सुरक्षा गर्न माग गर्दै चिकित्सक र नर्सले रातभर अस्पताल परिसरमा नाराबाजी गरेका थिए । रावत समूहले अस्पताल समेत तोडफोड गरेका छन् ।

असुरक्षाका कारण अहिले पनि ड्युटीमा आउन चिकित्सक र स्वास्थ्यकर्मी नमानेको श्रेष्ठले बताए । अस्पतालमा करिब एक सय हारामारीमा बिरामी रहेको र कतिपयको अवस्था गम्भीर रहेको भन्दै श्रेष्ठले चिकित्सक र नर्सलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

यसैबीच बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनामा संलग्नलाई पक्राउ गरिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । रानाका अनुसार पक्राउ पर्नेमा मानबहादुर रावत तथा उनका भतिजाहरु भरत रावत र लोकराज रावत छन् ।समयपोष्ट बाट