पथरी १८ साउन । मोरङको पथरी शनिश्चरेका वडा वडामा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका लागि कोरोना भाइरस विरुद्धको जनसन खोप लगाउने कार्य आज सम्पन्न भएको छ । एक मात्रा लगाए पुग्ने सो खोप आज वडा नम्बर २ का लागि नगर अस्पताल, ३ को सहरी स्वास्थ्य केन्द्र, ४ र १० का लागि शनिश्चरे स्वास्थ्य चौकी र ६ का लागि आधारभूत स्वास्थ्य केन्द्र मंगलबारेमा खोप लगाइएको छ ।
आज नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा स्वास्थ्य शाखाका एकराज खत्री सहितको टोलीले खोप केन्द्रहरु पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको छ । भोली वडा नम्बर १० मा रहेका भूटानी शरणार्थीहरुका लागि शरणार्थी शिविरमा खोप लगाइने छ । हिजो वडा नम्बर १ का लागि वडाको शहरी स्वास्थ्य केन्द्र, ७ को सहरी स्वास्थ्य केन्द्र, ९ र ८ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ नम्बरका लागि हसन्दह स्वास्थ्य चौकीमा खोप लगाइएको थियो ।
खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका साथै १८ वर्षमाथिका अपाङ्गता भएका क र ख श्रेणीका व्यक्तिहरु, खोप अनिवार्य भएको बैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले उमेर खुल्ने सहितका आवश्यक कागजात पेश गर्नु पर्ने निर्णय भएको थियो । साथै खोप लगाउने आउनेले कोरोना सतर्कता सहितको तोकिएको स्वास्थ्य मापदण्ड पुरा गर्न समेत अनुरोध गरिएको थियो ।
खोप लगाउनेले vaccine.mohp.gov.np मा आफनो नाम दर्ता गरी दर्ता नम्बर लिएर आउन समेत सकिने उल्लेख गरिएको थियो । सो समूहका लागि ५ हजार व्यक्तिलाई खोप लगाइने योजना छ । पथरी शनिश्चरेमा यसअघि ५५ वर्ष उमेर समूह माथिका लागि भेरोसिल खोप लगाइएको थियो । यस अघि र चालु अवस्थामा खोप लगाउन छुट भएका उमेर समूहका लागि वडास्तरबाट तथ्यांक संकलन गरी नगरले खोप माग गर्ने समेत बैठकले निर्णय गरेको छ ।




















