काठमाडौं,२४ साउन । नेपालमा शनिबार देखि मास्क सप्‍ताह सुरु गरिएको छ। विश्वव्यापी संकट ल्याएको कोभिड-१९ भाइरसविरुद्ध जुध्न अनिवार्य लगाउन आग्रह गर्दै साताव्यापी नेपाल मास्क अभियान शुरु गरिएको हो।

यस अवसरमा शनिबार साँझ नवनिर्मित धरहरामा प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको छ। त्यस क्रममा कोभिडविरुद्ध सन्देशसहित विद्युतीय बत्तीमार्फत धरहरालाई मास्क लगाइदिएर रंगीचंगी बनाएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मात्रै एक भिडियो सन्देशमार्फत महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कोरोना महामारीको तेस्रो लहरका लक्षणहरु देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन, प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भनेका थिए, हामी सबै मिलेर मात्रै यो महामारीलाई तह लगाउन सकिन्छ।

साताव्यापी अभियान सुरुवातका क्रममा कोभिड-१९ को तेस्रो लहर आउन थालेको भन्दै त्यसबाट जोगिनका लागि सबै नागरिकलाई अनिवार्य रुपमा मास्क लगाउन अपिल गरिएको छ।