पथरी, भदौ ५गते । मोरङको साधनस्रोत सम्पन्न बेलबारी नगरपालिका उपप्रमुख, साहित्यिक–स्रष्टा एवं गीतकार तारा उपनाउँले चर्चित ढाकाकुमारी पराजुलीको मौलिक रचना रहेको तीज गीत म्युजिक भिडियोसहित आइतबार बजारमा आउने भएको छ । साहित्यकार व्यक्तित्व उपप्रमुख पराजुलीको रचना रहेको उक्त गीतलाई आज बजारमा सर्वाधिक रूचाइएका गायिका सरू गौतम र गायक आरसी सापकोटाले स्वर दिएका छन् ।
हिन्दु धर्मालम्बी अधिकांश नेपाली दिदीबहिनीहरूले आफ्नो महान पर्वको रूपमा मनाइने तीजलाई लक्षित गरेर बजारमा आउँदै गरेको सो गीतको सङ्गीत भीम विसीले गरेका छन् । यसैगरी एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् भने म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकारहरू मेक्सम खाती, विना राउत, सोनी महत, कजिश श्रेष्ठलगायतका चर्चामा रहेका कलाकारहरूको अभिनय रहेको र उक्त गीतले राम्रोसँग दर्शकको मन जित्ने गायिका सरू गौतमले बताइन् ।
नेपाली नारी जगतले सगर्व हर्षोल्लासका साथ मनाउँने तीज पर्व पछिल्लो समय अनावश्यक तडकभडक, तामझाम र भड्किलो हुँदै गएकोले तीज पर्वको मौलिकता र यसको गरिमा जोगाउँन तीज मौलिक र महिलाहरूको स्वतन्त्र र सार्वभौम पर्व बने मात्र यस पर्वको ऐतिहासिक सांस्कृतिक पक्ष जीवित रहने भएकाले सचेतनासँगै मनोरञ्जन पक्षलाई गीतमा समेटिएको रचनाकार पराजुलीले बताइन् ।
वेभ रेकर्डिङ स्टुडियो अनामनगरले रेकर्डिङ गीतमा ‘गहनापात महँगो साडी चाहिन्नँ, मसिनो मिठो ऋणपान गरि खाइन्नँ’ शब्द र स्वरमा उपप्रमुख एवं गीतकार पराजुलीले यो तीज विशेष उपहार तयार गरेकी हुन् । गीतकार पराजुलीले वर्तमान समयमा चर्चामा रहेका गायकगायिकाहरूले गीतमा स्वर दिएको, संगीत क्षेत्रमा सफल संगीतकारद्वारा संगीत भएको र प्रतिभाशाली कलाकाकारहरूको अभिनय रहेकोले बताउँदै उक्त गीत सफल बन्ने कुरामा आफू विश्वस्त रहेको दाबी सहित सबै दर्शकश्रोताहरूलाई उक्त तीज गीतलाई सुनेर हेरेर माया गरिदिन आग्रह गरिन् ।




















